समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

इरान–अमेरिका वार्ताको प्रभाव : तेलको मूल्यमा तीन वर्षयताकै उच्च गिरावट

झा।अमेरिका र इरानबीच पाकिस्तानको इस्लामावादमा सुरु भएको उच्चस्तरीय वार्ताको सकारात्मक प्रभाव विश्व बजारमा देखिएको छ । दुई देशबीचको तनावका कारण आकासिएको इन्धनको मूल्यमा शनिबारसम्म आइपुग्दा सन् २०२२ यताकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट रेकर्ड गरिएको हो ।

​पाकिस्तानको मध्यस्थतामा भएको १४ दिने युद्धविराम र शनिबारदेखि सुरु भएको औपचारिक वार्ताले लगानीकर्ताहरूमा उत्साह जगाएको छ । जसका कारण यो साता अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य झन्डै १३ प्रतिशतले घटेर प्रतिब्यारेल ९५.२० डलरमा झरेको छ । कुनै समय यसको मूल्य प्रतिब्यारेल १२० डलर नाघेको थियो । त्यस्तै, अमेरिकी कच्चा तेलको मूल्यमा १५.५ प्रतिशतले गिरावट आई प्रतिब्यारेल ९६.५७ डलर कायम भएको छ । यो गिरावट सन् २०२० को कोभिड महामारीपछिको सबैभन्दा ठूलो एकदिने गिरावट हो ।

विज्ञापन (Advertisement)Advertisement

​विश्वको झन्डै २० प्रतिशत तेल ओसारपसार हुने ‘हर्मुज जलडमरु’ (स्ट्रेट अफ हर्मुज) लाई इरानले पुनः सञ्चालनमा ल्याउने सङ्केत दिनुलाई मूल्य घट्नुको मुख्य कारण मानिएको छ । युद्धका कारण उक्त मार्ग ठप्प हुँदा विश्वव्यापी रूपमा ऊर्जा संकट चुलिएको थियो । इस्लामावाद वार्ताको मुख्य एजेन्डा नै यो मार्गलाई सुरक्षित र खुल्ला राख्नु रहेको छ ।

नेपाललाई राहतको संकेत

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको यो गिरावट नेपालका लागि सुखद देखिएको छ । यसले ढुवानी खर्च र इन्धनको मूल्य घटाउन मद्दत पुर्‍याउनेछ, जसको प्रत्यक्ष असर बजारमा खाद्यान्न लगायतका वस्तुको मूल्यवृद्धि नियन्त्रणमा देखिनेछ । यसबाट लगातार घाटामा चल्दै आएको नेपाल आयल निगमलाई नाफा कमाउने र उपभोक्तालाई सहुलियत दिने बाटो खुल्नेछ भने विदेशी मुद्रा सञ्चितिमा समेत राहत मिल्नेछ ।

​यद्यपि, बजार विश्लेषकहरूले यसलाई ‘अस्थायी राहत’ मात्र हुन सक्ने टिप्पणी गरेका छन् । इस्लामावादमा जारी वार्ता सफल नभए र १४ दिने युद्धविरामपछि पुनः संघर्ष सुरु भएमा तेलको मूल्य फेरि ११० डलर नाघ्न सक्ने चेतावनी दिइएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी अधिकारीहरूबीच स्थायी शान्तिको खाका तयार भएमा मात्र सन् २०२६ को यो वार्ता विश्व अर्थतन्त्रका लागि ऐतिहासिक कोसेढुङ्गा सावित हुनेछ ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)