समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

तुलसी घिमिरेको ‘पहाड’: नेपालीपन र अभिनयको त्रिवेणी

हल्दिबारी ,झापा ।नेपाली चलचित्र क्षेत्रका दिग्गज निर्देशक तुलसी घिमिरे यतिबेला आफ्नो नयाँ चलचित्र ‘पहाड’ मार्फत पुनः दर्शकमाझ चर्चाको केन्द्रमा छन् । ‘चिनो’, ‘कुसुमे रुमाल’ र ‘दर्पण छायाँ’ जस्ता व्यावसायिक र कलात्मक दुवै हिसाबले सफल चलचित्र दिएका घिमिरेले यसपटक ‘पहाड’ मा नेपाली समाजको गहिरो र मर्मस्पर्शी पक्षलाई समेटेका छन् । झण्डै पाँच दशकदेखि नेपाली कला र भाषाको श्रीवृद्धिका लागि पुर्‍याएको विशिष्ट योगदानको कदरस्वरूप नेपाल सरकारबाट हालै ‘सम्मानित नागरिकता’ प्राप्त गर्न लागेका घिमिरेको यो फिल्मप्रतिको आत्मविश्वासले पनि यसको गुणस्तर र ओजलाई थप पुष्टी गर्छ ।

सामान्यतया नेपाली फिल्महरूलाई केवल मनोरञ्जनको साधनका रूपमा मात्र हेरिने गरिए पनि घिमिरेले यसपटक त्यो घेरालाई तोड्ने प्रयास गरेका छन् । ‘पहाड’ केवल मनोरञ्जन मात्र नभएर दर्शकले आफ्नै जीवनका भोगाइ र लुकेका पीडाहरूको अनुभूति गर्ने एउटा जीवन्त ऐनाका रूपमा तयार पारिएको छ ।

विज्ञापन (Advertisement)Advertisement

विशेष गरी नेपाली समाजले लामो समयदेखि भोग्दै आएको ‘पलायन’ को तितो यथार्थ र त्यसले उब्जाएको पीडालाई यसले मुख्य कथावस्तु बनाएको छ । निर्देशक घिमिरेले यसपटक पनि नेपाली माटोको गन्ध र पहाडी जनजीवनको संवेदनशीलतालाई पर्दामा उतार्न कुनै कसर बाँकी राखेका छैनन् ।

फिल्मको अर्को सशक्त पक्ष यसको कास्टिङ र कलाकारहरूको भूमिका हो । नेपाली कला क्षेत्रका दुई भिन्न धारका हस्तीहरू मदनकृष्ण श्रेष्ठ र सुनिल थापालाई यसपटक दर्शकले निकै अनौठो र अपत्यारिलो चरित्रमा देख्न पाउनेछन् । उनीहरूको यो फरक उपस्थितिले फिल्मप्रति थप कौतुहलता जगाएको छ । त्यस्तै, हरेक फिल्ममा आफूलाई नयाँ स्वरूपमा ढाल्न सिपालु अभिनेता विपिन कार्की यसपटक पनि विल्कुलै भिन्न भूमिकामा प्रस्तुत भएका छन् ।

एउटा सन्देशमूलक कथाको जगमा उभिएको ‘पहाड’ ले दर्शकलाई केवल हलसम्म ल्याउने मात्र नभई उनीहरूलाई एउटा अर्थपूर्ण सन्तुष्टि दिएर फर्काउने दाबी निर्माण पक्षको छ । यसपटक दर्शकबाट आलोचनाभन्दा पनि ताली बढी पाइनेमा निर्देशक घिमिरे र उनको टोली पूर्ण रूपमा ढुक्क देखिएको छ ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)