हल्दीबारी, झापा । झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर-१ मा सञ्चालित सम्स्कारा शिक्षा सदनले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी आफ्ना विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच विदाई गरेको छ। २०८२ सालको SEE परीक्षामा सामेल भएको यस विद्यालयको यो नै पहिलो ब्याच हो। चैत्र २९ गते आइतबार साँझ आयोजित विशेष कार्यक्रममा विद्यालयबाट परीक्षा दिएका १५ जना विद्यार्थीहरूलाई उनीहरूको आगामी शैक्षिक यात्राको पूर्ण सफलताको कामना गर्दै बिदाइ गरिएको थियो।

​विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन सिम्खडाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षा क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख तथा विशिष्ट अतिथिका रूपमा विद्यालयका संस्थापक गोपाल नेपाल, प्याव्सन अध्यक्ष एवं न्यू स्टार इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल याम दंगाल ‘सरोवर’, कृष्ण सागर इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल नितेश खरेल, र जसोदा इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल जनकराज राजवंशीले विद्यार्थीहरूलाई सफलताको शुभकामना दिनुभएको थियो।

​सोही अवसरमा सम्स्कारा शिक्षा सदनका संस्थापक प्रिन्सिपल त्रिलोचन भण्डारी, सिर्जना पौडेल, शिक्षक सुमन महत र पूर्व शिक्षक कमल गुरागाईं लगायतले मन्तव्य राख्दै विद्यार्थीहरूले प्राप्त गरेको ज्ञानलाई समाज र देशको हितमा लगाउन सुझाव दिनुभएको थियो। विदाई कार्यक्रममा कक्षा १० का विद्यार्थीहरू साहिल गजमेर, आर्जु पाठक र सिकुम लिम्बुले विद्यालयमा बिताएका अविस्मरणीय क्षणहरू र सिकाइका अनुभवहरू सुनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
10
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार