अर्जुनधारा, झापा । झापाको अर्जुनधारामा जारी इन्डो–नेपाल यू–१३ टी–२० च्याम्पियन्स ट्रफी अन्तर्गत शुक्रबार सम्पन्न खेलमा बोस्टन क्रिकेट एकेडेमीले प्रभावशाली जित दर्ता गरेको छ। अर्जुनधारा–९ स्थित नमुना खेल मैदानमा भएको रोमाञ्चक भिडन्तमा बोस्टनले आस्था क्रिकेट एकेडेमीलाई ३९ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको बोस्टन क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७९ रनको बलियो योगफल तयार पारेको थियो। बोस्टनको बलियो इनिङ्सका मुख्य नायक आनोक राई बने, जसले ९४ रनको विस्फोटक अर्धशतकीय पारी खेल्दै टोलीलाई विशाल स्कोरतर्फ डोहोर्याए। उनलाई अध्वीक बास्तोलाले २४ र मौसम ढकालले १४ रन बनाउँदै साथ दिएका थिए। बलिङतर्फ आस्थाका युमन घिमिरे, रेहान कार्की र लोमस तिम्सिनाले समान १–१ विकेट लिए।
१८० रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको आस्था क्रिकेट एकेडेमीले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १४० रन मात्रै बनाउन सक्यो। आस्थाका लागि युनिक गौतमले ७७ रनको उत्कृष्ट पारी खेले पनि अन्य ब्याटर चल्न नसक्दा टोली हार बेहोर्न बाध्य भयो। आर्यन श्रेष्ठले २८ र रेहान कार्कीले १२ रनको योगदान दिए। आस्थालाई रोक्न बोस्टनका आयान देवादीले घातक बलिङ गर्दै ४ विकेट लिए भने इन्दिप बस्नेतले २ विकेट हात पारे।
उत्कृष्ट प्रदर्शन गरेका आयान देवादी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकेडेमीको सहआयोजनामा सञ्चालित यस प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।


















