झापा, हल्दिबारी— नयाँ वर्ष २०८३ को अवसर पारेर विर्ता युथ स्काउट क्र्यू विर्तामोडको आयोजनामा चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयमा सम्पन्न दुई दिवसीय स्काउट क्याम्प उत्साह, अनुशासन र सहकार्यको उत्कृष्ट नमुना बनेको छ।


२०८२ साल चैत ३० गतेबाट सुरु भएको कार्यक्रम २०८३ साल वैशाख १ गते रात्रिकालीन क्याम्प फायरमार्फत नयाँ वर्षलाई स्वागत गर्दै भव्य रूपमा समापन गरिएको थियो। कार्यक्रममा झापा जिल्लाका ८ पालिकाका १४ विद्यालयबाट करिब २४० विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो, जसले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।


कार्यक्रमका प्रमुख अतिथि नेपाल स्काउट कोशी प्रदेशका आयुक्त हेमन्त भण्डारी रहनुभएको थियो। उहाँले स्काउटले विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन र सामाजिक उत्तरदायित्व विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।


त्यसैगरी कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष प्रतिमा भुजेल, पूर्व विद्यार्थी समाजका अध्यक्ष अभिषेक खतिवडा, सचिव टिकाराम ढकाल, अभिभावक, शिक्षक, स्काउट लिडर्स, स्काउट समूह तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


दिवा सत्रअन्तर्गत आयोजित विशेष कार्यक्रममा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन प्रमुख अतिथि तथा उपाध्यक्ष लक्ष्मी मैनाली विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। सोही क्रममा अध्यक्ष लिङ्देनले स्काउटसम्बन्धी विभिन्न तालिमहरूको अभ्यास गर्दै विद्यार्थीहरूलाई प्रेरणा दिनुभएको थियो।
“थर्ड न्यू इयर क्याम्प २०८३” नाम दिइएको उक्त कार्यक्रम यस विद्यालयमा आयोजना गरिएको दोस्रो स्काउटसम्बन्धी कार्यक्रम भएको प्रिन्सिपल दुर्गामणि गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा व्यवहारिक ज्ञान, आत्मनिर्भरता र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछन्।
नयाँ वर्षको सन्दर्भ पारेर आयोजना गरिएको कार्यक्रमको सभाध्यक्ष समेत प्रिन्सिपल गौतम नै रहनुभएको थियो।
दुई दिनसम्म सञ्चालन भएको उक्त क्याम्पले विद्यार्थीहरूबीच मित्रता, सहकार्य, अनुशासन र नेतृत्व विकासका महत्वपूर्ण सन्देशहरू प्रवाह गरेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार