भद्रपुर । सार्वजनिक स्थल र सवारी साधनमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य दुर्व्यवहार नियन्त्रण गर्न नेपाल प्रहरीले झापामा ‘सेफ्टी पिन’ अभियानलाई तीव्रता दिएको छ । यसै क्रममा शुक्रबार भद्रपुर–१० स्थित धनुषमोडमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।


सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढी र ट्राफिक प्रहरी कार्यालय चन्द्रगढीको संयुक्त टोलीले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न सवारी साधनमा सवार यात्रु तथा पैदल यात्रीहरूलाई सचेत गराइएको थियो । अभियानका क्रममा टोलीले ‘सेफ्टी पिन’ अभियानसँग सम्बन्धित १३० थान जानकारीमूलक पर्चा वितरण गरेको छ ।

कार्यक्रममा यौनजन्य हिंसाबाट कसरी जोगिने र त्यस्ता घटना घटेमा तुरुन्त कसरी प्रहरीलाई खबर गर्ने भन्ने विषयमा जानकारी गराउनुका साथै सडक सुरक्षा सम्बन्धी सचेतना समेत प्रदान गरिएको थियो । सार्वजनिक स्थललाई सुरक्षित बनाउने उद्देश्यले प्रहरीले यो अभियान देशव्यापी रूपमा सञ्चालन गर्दै आएको छ


















