हल्दीबारी (झापा) ।नेपाल रेडक्रस सोसाइटी जलथल उपशाखाको नवनिर्मित भवन बुधबार एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ । विश्व रेडक्रस दिवसको अवसर पारेर आयोजित उपशाखाको पन्ध्रौँ वार्षिक साधारण सभा तथा दाता सम्मान कार्यक्रममा उक्त भवनको विधिवत् उद्घाटन गरिएको हो ।

​कोशी प्रदेश सभा सदस्य छविलाल चुडाल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाका सभापति लोकराज ढकालले संयुक्त रूपमा भवनको रिबन काटेर उद्घाटन गर्नुभएको थियो । करिब २७ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त भवनले अबका दिनमा रेडक्रसका गतिविधि सञ्चालन गर्न र मानवीय सेवाका कार्यलाई प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

​सोही अवसरमा रेडक्रस भवन निर्माणका लागि आर्थिक तथा भौतिक सहयोग गर्ने १०० जनाभन्दा बढी चन्दादाताहरूलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा रेडक्रसको विशिष्ट सदस्यता प्राप्त गर्ने पुष्पराज निरौला, त्रिलोचन सापकोटा, योगेन्द्र पराजुली, रमेश चुडाल र दशरथ उप्रेतीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । हाल यस उपशाखामा २ जना यशस्कर सदस्य, ६ जना विशिष्ट सदस्य, १ संस्थागत सदस्य र ९८० जना आजीवन सदस्य रहेका छन् ।

​कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सांसद चुडाल र जिल्ला सभापति ढकालले जलथल उपशाखाले मानवीय सेवा र संस्थागत विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो । यस्तै, हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, वडा नम्बर ४ का अध्यक्ष सन्तकुमार थापा र रेडक्रस हल्दीबारी उपशाखाका सभापति कर्णखर प्रसाई लगायतले उपशाखाको प्रगति र नयाँ भवन निर्माणका लागि भएको सामूहिक प्रयासको सराहना गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।

​उपशाखा सभापति रेमप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष बलराम गिरीले आर्थिक प्रतिवेदन पेस गर्नुभएको उक्त कार्यक्रममा उपसभापति पुण्यकुमारी लामिछानेले स्वागत मन्तव्य राख्नुभएको थियो । सचिव नितिश शाहले सहजीकरण गर्नुभएको सो समारोहमा झापा जिल्ला शाखाका मन्त्री, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र रेडक्रसकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार