कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा आज आयोजित एक भव्य समारोहका बीच सुवेन्दु अधिकारीले पश्चिम बङ्गालको पहिलो भाजपा मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। उहाँले बाङ्ला भाषामा ईश्वरको नाममा शपथ लिएपछि मञ्चमा उपस्थित प्रधानमन्त्री नरेन्द्र मोदीलाई ढोगेर आशीर्वाद लिनुभयो। उहाँसँगै दिलीप घोष, अग्निमित्रा पल, अशोक कीर्तनिया, क्षुदीराम टुडू र निशिथ प्रमाणिकले पनि मन्त्री पदको शपथ लिनुभएको छ। यस विशेष समारोहमा प्रधानमन्त्री मोदी, गृह मन्त्री अमित शाह, राजनाथ सिंह लगायत विभिन्न राज्यका २० जना मुख्यमन्त्रीहरूको उपस्थिति रहेको थियो।
समारोहको सुरुवातमा प्रधानमन्त्री मोदीले रोड शो गर्दै जनताको अभिवादन स्वीकार गर्नुभयो र मञ्चमा पुगेर गुरुदेव रवीन्द्रनाथ टैगोरको १६५औँ जयन्तीका अवसरमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। त्यसपछि उहाँले सन् १९५२ देखि पार्टीमा सक्रिय ९८ वर्षीय ज्येष्ठ कार्यकर्ता माखनलाल सरकारलाई शल ओढाएर उहाँको गोडा छोई आशीर्वाद लिनुभएको थियो। मुख्यमन्त्री र मन्त्रीहरूको शपथ सकिएपछि प्रधानमन्त्रीले मञ्चबाटै घुँडा टेकेर बङ्गालका जनतालाई ऐतिहासिक जितका लागि नमन गर्नुभयो।
भाजपाले यस पटकको विधानसभा चुनावमा २९४ मध्ये २०७ सिट जितेर १५ वर्षदेखिको तृणमूल कांग्रेसको शासन अन्त्य गरेको छ। मुख्यमन्त्री नियुक्त हुनुभएका सुवेन्दु अधिकारीले आफ्नो राजनीतिक यात्रा छात्र राजनीतिबाट सुरु गर्नुभएको थियो र यस पटक भवानीपुर क्षेत्रमा ममता बनर्जीलाई पराजित गर्दै उहाँले यो ऐतिहासिक सफलता हासिल गर्नुभएको हो। शपथ ग्रहणपछि उहाँले राइटर्स बिल्डिङमा औपचारिक प्रवेश गरी कार्यभार सम्हाल्ने तयारी गर्नुभएको छ भने सुब्रत गुप्तालाई उहाँको सल्लाहकार नियुक्त गरिएको छ।

















