समाचार
हल्दिबारी संवाददाता २ महिना अगाडि

बिर्तामोडको सतानु पैनी अतिक्रमण: सार्वजनिक जग्गा निजी बनाएर करोडौँ असुली, आरोपित अमेरिकामा

बिर्तामोड, २७ वैशाख । झापाको बिर्तामोड–५ स्थित ऐतिहासिक सतानु पैनीको सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम गरी करोडौँ रुपैयाँ असुली भएको तथ्य बाहिर आएको छ। करिब १ विगाह ३ कठ्ठा सार्वजनिक जग्गा जालझेलपूर्ण ढंगले निजीकरण गरी विभिन्न व्यक्तिलाई बिक्री गर्ने नाममा ठूलो रकम ठगी गरिएको स्थानीय र पूर्व जनप्रतिनिधिहरूले दाबी गरेका छन्। उक्त जग्गा आफ्नो नाममा कायम गराउने मुख्य आरोपित तारानिधि तिम्सिना हाल अमेरिकामा रहेको र उनले विभिन्न व्यक्तिबाट बैनाबापत मात्र २ करोड ४० लाख रुपैयाँभन्दा बढी रकम असुल गरिसकेको खुलेको छ।

​प्राप्त विवरणअनुसार वि.सं. २०५३ मा भुपाल किराती नेतृत्वको आयोगमार्फत सो जग्गा सुरुमा अनुकुमारी लिम्बुनीको नाममा दर्ता गरिएको थियो। पछि खतिवडा थरका व्यक्ति हुँदै उक्त जग्गा तिम्सिनाको हातमा पुगेको हो। जग्गा निजीकरण भएको थाहा पाएपछि तत्कालीन अनारमनी गाविसले अदालतमा मुद्दासमेत लडेको थियो। अदालतको फैसलापछि ११ कठ्ठा जग्गा पैनीकै रूपमा फिर्ता भए पनि बाँकी १ विगाह ३ कठ्ठा जग्गा तिम्सिनाकै श्रीमती राधिका र छोरा ऋषिरामको नाममा दर्ता हुन पुग्यो। सर्वोच्च अदालतले समेत २०७४ मा तिम्सिनाकै पक्षमा आदेश दिएपछि यो विवाद थप जटिल बनेको छ।

विज्ञापन (Advertisement)Advertisement

​हाल सो क्षेत्रमा १३१ घरधुरी सुकुम्बासीको बसोबास रहे पनि भूमाफियाको चलखेलका कारण सार्वजनिक पैनी मासिएर ठूला व्यावसायिक भवन र होटलहरू निर्माण भएका छन्। स्थानीयवासीले सार्वजनिक सम्पत्ति हडप्ने र सुकुम्बासीलाई समेत ठगी गर्ने यस प्रकरणको पुनः उच्चस्तरीय छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)