अभिषेक खतिवडा

झापा, १८ असार । ​वर्षायाम सुरु भएसँगै फैलिन सक्ने डेङ्गु, जापानी इन्सेफ्लाइटिस र सर्पदंशको जोखिमलाई न्यूनीकरण गर्न झापाको हल्दीबारी गाउँपालिकाका दुई मुख्य बजार क्षेत्रमा वृहत् सचेतनामूलक अभियान सञ्चालन गरिएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको प्राविधिक सहजीकरण तथा सम्बन्धित वडा कार्यालयहरूको आयोजनामा वडा नं. ३ को ढडुवा बजार र वडा नं. ४ को वडाबारी बजार क्षेत्रमा सचेतनामूलक कार्यक्रम, बजार अनुगमन तथा लार्भा नष्ट गर्ने अभियान संयुक्त रूपमा सम्पन्न गरिएको हो। अभियानअन्तर्गत बजार क्षेत्रको स्थलगत अनुगमन र सरसफाइ गर्नुका साथै लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने कार्यलाई व्यापक बनाइएको थियो। सो क्रममा स्थानीय व्यवसायी तथा सर्वसाधारणलाई रोगहरूबाट बच्ने उपाय तथा सर्पदंशबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे स्थलगत रूपमै सचेत गराइएको छ।

​चोक–चोक, होटल, ग्यारेज, विद्यालय परिसर तथा किराना पसलहरूमा गरिएको अनुगमनका क्रममा पानी जम्ने भाँडा, ट्यांकी, ड्रम, पुराना टायर र कबाडी सामग्रीहरूमा लामखुट्टेको लार्भा फेला परेकाले ती स्थलहरू तत्काल सफा गरिएको थियो। स्वास्थ्यकर्मीहरूले वातावरण स्वच्छ राख्न र पानी जम्ने अवस्था सिर्जना हुन नदिन व्यवसायी र सर्वसाधारणलाई विशेष आग्रह गरेका छन्।

​वडा नं. ३ को ढडुवा बजारमा सञ्चालित कार्यक्रममा वडा अध्यक्ष विष्णुप्रसाद ओली, वडा सदस्य कर्ण भण्डारी, हल्दीबारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौला, र जलथल स्वास्थ्य चौकी प्रमुख माधवप्रसाद यादवको उपस्थिति रहेको थियो। त्यसैगरी जलथल प्रहरी चौकी प्रमुख छविहाङ् शेर्मा, ढडुवा बजार व्यवस्थापन समितिकी उपाध्यक्ष तुलसा देवी आचार्य, आधारभूत स्वास्थ्य चौकी हल्दीबारी–३ का प्रमुख मिलन उप्रेती, स्वास्थ्य स्वयंसेविका तथा नागरिक समाजका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

​त्यस्तै, वडा नं. ४ को वडाबारी बजारमा आयोजित अभियानमा वडा अध्यक्ष सन्तकुमार थापा मगर, वडा सदस्य सुनिल बाराकोटी, स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौला र जलथल स्वास्थ्य चौकी प्रमुख माधवप्रसाद यादव सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा प्रहरी प्रमुख छविहाङ् शेर्मा, वडाबारी बजार समितिका अध्यक्ष शान्तिराम कोइराला, सचिव योगेश कार्की, महेन्द्र माध्यमिक विद्यालयकी शिक्षिका तुलसा सुवेदी भण्डारी लगायत विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

​कार्यक्रमका सहभागी स्वास्थ्यकर्मीहरूले डेङ्गु रोग सार्ने एडिस जातको लामखुट्टेको प्रजननस्थल नष्ट गर्न घर र कार्यथलो वरपरका पानी जम्ने ठाउँहरू नियमित सफा राख्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले जापानी इन्सेफ्लाइटिसबाट बच्नका लागि खोप र व्यक्तिगत सुरक्षाका उपायहरू अपनाउन आवश्यक रहेको औंल्याएका छन्। साथै वर्षायाममा सर्पदंशको जोखिम समेत उच्च हुने भएकाले घर वरपर झाडी सफा राख्न र सतर्कता अपनाउन आग्रह गरिएको छ। स्वस्थ र सुरक्षित समुदाय निर्माण गर्ने उद्देश्यले सञ्चालित यस अभियानले गाउँपालिकाभित्र सरसफाइप्रतिको चेतना बढाउनुका साथै सम्भावित महामारीको जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार