झापा । छिमेकी मुलुक भारतबाट नेपाल भ्रमणमा आउने पर्यटकहरूको संख्यामा ऐतिहासिक वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार यस वर्षको जुन महिनामा नेपाल भित्रिने विदेशी पर्यटकहरूमध्ये भारतीय नागरिकहरूको संख्या सबैभन्दा उच्च रहेको हो । काठमाडौँका स्थानीय निकाय तथा बालेन सरकारले भारतीय सवारी साधनको परमिट र कागजातमा कडाइ गरे तापनि नेपाल आउने भारतीय पर्यटकहरूको उत्साहमा कुनै कमी आएको देखिँदैन । जुन महिनामा मात्रै कुल ९१ हजार ३६३ जना विदेशी पर्यटकहरू नेपाल भित्रिएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा १९ दशमलव ५ प्रतिशतले बढी हो । यो आगमनले कोरोना महामारी पूर्व अर्थात् सन् २०१९ को जुन महिनाको रेकर्डलाई समेत २२ प्रतिशतले पछि पारेको छ, जसलाई नेपाली पर्यटन क्षेत्र पूर्ण रूपमा चलायमान भएको बलियो संकेतका रूपमा लिइएको छ ।

​पर्यटन बोर्डको प्रतिवेदन अनुसार जुन महिनामा भारतबाट मात्रै ४१ हजार ८०९ जना पर्यटकहरू नेपाल आएका छन् । यो संख्या नेपाल भित्रिएका कुल विदेशी पर्यटकको झण्डै ४५ दशमलव ७६ प्रतिशत हुन आउँछ । भारतपछि नेपाल आउने पर्यटकहरूको दोस्रो ठूलो स्रोत संयुक्त राज्य अमेरिका बनेको छ, जहाँबाट ११ हजार ८३६ जना नागरिकले नेपाल भ्रमण गरेका छन् । नेपालसँग रणनीतिक साझेदारका रूपमा निकट बन्न खोज्ने र कूटनीतिक रूपमा पर्यटनलाई महत्त्व दिने दाबी गर्ने छिमेकी मुलुक चीन भने पर्यटक आगमनका हिसाबले तेस्रो स्थानमा खुम्चिएको छ । जुन महिनामा चीनबाट जम्मा ९ हजार ९९५ जना पर्यटक मात्र नेपाल आएका छन् । यसैगरी, नेपाल बढी पर्यटक पठाउने प्रमुख पाँच मुलुकहरूको सूचीमा ४ हजार ३२२ पर्यटकसहित बंगलादेश चौथो र २ हजार ८९६ पर्यटकसहित अष्ट्रेलिया पाँचौँ स्थानमा रहेका छन् ।

​भौगोलिक क्षेत्रका आधारमा विश्लेषण गर्दा नेपालको पर्यटन बजारमा दक्षिण एशियाली मुलुकहरूको दबदबा कायम छ । कुल पर्यटकमध्ये ५२ दशमलव ८२ प्रतिशत हिस्सा दक्षिण एशियाली क्षेत्रकै रहेको छ भने अन्य एशियाली मुलुकको हिस्सा १७ दशमलव ६८ प्रतिशत र अमेरिकी महाद्वीपको हिस्सा १४ दशमलव ३६ प्रतिशत रहेको छ । बोर्डका अधिकारीहरूले विश्व बजारमा नेपालप्रतिको साख र आकर्षण बढ्दै गएको दाबी गरिरहँदा स्थल मार्गबाट आउने भारतीय पर्यटकहरूले भने केही सास्ती भोग्नुपरेको गुनासो गरेका छन् । सीमा नाका र सडक मार्गमा गाडीको परमिटका नाममा अवैध असुली र झन्झटिलो प्रशासनिक प्रक्रिया झेल्नुपरेको कतिपय भारतीय यात्रीहरूको अनुभव छ । आगामी दिनमा पर्यटन आगमनको यो सुखद लयलाई टिकाई राख्न सीमा क्षेत्रका प्रशासनिक उल्झनहरूलाई सच्याउँदै पर्यटकको सुरक्षा र सहजतामा ध्यान दिनुपर्ने सरोकारवालाहरूले औँल्याएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार