झापा, ३१ जेठ । झापाको हल्दीबारी गाउँपालिकामा ६–७ फिट लामो अजिङ्गर फेला परेको छ। हल्दीबारी गाउँपालिका वडा नं. ३ स्थित गोरेचोकको एक मकैबारीमा स्थानीय बासिन्दाहरूले मकै भाँच्ने क्रममा उक्त अजिङ्गर फेला पारेका हुन्।
आइतबार दिउँसो करिब १३:३० बजेको समयमा अनुमानित १२ केजी तौल भएको उक्त अजिङ्गर देखेपछि स्थानीयवासीले तत्कालै प्रहरी चौकी जलथलमा जानकारी गराएका थिए। मकैबारीमा ठुलो अजिङ्गर रहेको सूचना पाउनासाथ प्रहरी टोली तुरुन्तै घटनास्थलतर्फ प्रस्थान गरेको थियो।
घटनास्थलमा पुगेको प्रहरी टोलीले स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूको रोहबरमा अजिङ्गरलाई कुनै चोटपटक नलाग्ने गरी सकुशल उद्धार गरेको छ। उद्धार गरिएको उक्त अजिङ्गरलाई सोही वडामा रहेको श्री रणकाली सामुदायिक जङ्गलभित्र सुरक्षित रूपमा लगेर छाडिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
1
+1
+1
+1
+1
















