एजेन्सी (पोर्चुगल) — पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्। सन् २०१६ मा स्पेनको म्याड्रिडमा पहिलोपटक भेट भएपछि निरन्तर सम्बन्धमा रहेका रोनाल्डो र जर्जिनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो विवाहको औपचारिक जानकारी गराएका हुन्।

उनीहरूले विवाहको औँठी देखाउँदै खिचिएको तस्बिर सामाजिक सञ्जालमा साझा गरेका छन्। ४१ वर्षीय रोनाल्डोले साउदी क्लब अल नासरबाट २०२६–२७ सिजनको साउदी प्रो लिग अभियान सुरु हुनुभन्दा चार दिनअघि विवाह गरेका हुन्।

स्काइ स्पोर्ट्सका अनुसार रोनाल्डो र रोड्रिग्वेजको विवाह समारोह पोर्चुगलको राजधानी लिस्बनबाट करिब २० माइल पश्चिममा रहेको समुद्री तटीय शहर कास्काइसमा सम्पन्न भएको हो। निजी स्तरमा आयोजित उक्त विवाह समारोहमा उनीहरूका पाँचै जना सन्तानको उपस्थिति रहेको थियो।
विश्व फुटबलका महान् खेलाडीमध्येका एक रोनाल्डोले आफ्नो व्यावसायिक करियरमा स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस, अल नासर तथा पोर्चुगलको राष्ट्रिय टोलीबाट खेल्दै झण्डै १ हजार गोल गरिसकेका छन्।
