झापा । झापाको हल्दिबारीसहित जिल्लाका विभिन्न भागमा जापानी इन्सेफेलाइटिस (जेई) सङ्क्रमणका कारण पछिल्लो चार महिनाको अवधिमा पाँच जनाको मृत्यु भएको छ।

स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा पाँच जनाको ज्यान गएको हो। मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन्।

सङ्क्रमण पुष्टि हुनेहरूमा हल्दिबारीका एक, मेचीनगरका तीन, बिर्तामोडका दुई तथा बाह्रदशी, कचनकवल र अर्जुनधाराका एक–एक जना रहेका छन्।
स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार सङ्क्रमित हुनेहरूमा अधिकांश ५० वर्षभन्दा माथिका उमेर समूहका व्यक्तिहरू रहेका छन्।
के हो जापानी इन्सेफेलाइटिस?
जापानी इन्सेफेलाइटिस क्युलेक्स जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो। सङ्क्रमण भएपछि यस भाइरसले सोझै मानिसको मस्तिष्कमा गम्भीर असर पुर्याउने गर्दछ।
विशेषगरी सुँगुर, बङ्गुर र हाँसलाई जेई भाइरसको मुख्य स्रोत (रिजर्भोयर) मानिन्छ। त्यसैले सुँगुर पालन गर्ने व्यक्तिहरू, धानखेत र पानी जम्ने क्षेत्र आसपास बसोबास गर्ने समुदाय जेई सङ्क्रमणको उच्च जोखिममा रहने गर्छन्।
बच्न सतर्कता र खोप लगाउन आग्रह
सङ्क्रमणको जोखिम बढेसँगै स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले जेईबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्नेमा जोड दिनुभएको छ।
उहाँले सरकारले सञ्चालन गर्ने नियमित खोप कार्यक्रममा अनिवार्य सहभागी भई जेईविरुद्धको खोप लगाउन र झुल टाँगेर सुत्ने तथा घरआसपास पानी जम्न नदिने जस्ता सचेतना अपनाउन आग्रह गर्नुभएको छ।
