रसुवाको टिमुरे क्षेत्रमा बाढीले निम्त्याएको विनाशकारी क्षतिपछि जारी उद्धार कार्यका बिच एउटा अद्भूत र आशालाग्दो खबर बाहिर आएको छ। बुधबार बिहान तिब्बत क्षेत्रबाट आएको भीषण बाढीमा परेर बेपत्ता भएकी एक ६ वर्षीया बालिकालाई ६० घण्टापछि शुक्रबार साँझ जीवितै उद्धार गरिएको छ।

सशस्त्र प्रहरी बल (APF) को टोलीले बालिकालाई बोर्डर आउटपोस्ट (BOP) टिमुरेबाट करिब २०० मिटरको दूरीमा बाढीले थुपारेको ढुङ्गा, हिलो र काठका ठूला मुढाहरूको जगमुनिबाट सकुशल बाहिर निकालेको हो।
बुधबार बिहान तिब्बततर्फबाट अचानक आएको बाढीले रसुवागढी र टिमुरे क्षेत्रमा व्यापक जनधनको क्षति पुर्याएको थियो। विपद्पछिको टोली उद्धारमा जुटिरहेका बेला ६० घण्टापछि बालिका भेटिनुलाई सुरक्षाकर्मी र स्थानीयले “ठूलो चमत्कार” का रूपमा लिएका छन्।
सशस्त्र प्रहरी बलका सह-प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (DSP) शैलेन्द्र थापाका अनुसार बाढीको गेग्रानभित्र चेपिएकी बालिकाको अवस्था स्थिर रहेको छ। “बाढीले बगाएर ल्याएको ढुङ्गा र काठको थुप्रोभित्र अड्किएकी अवस्थामा बालिकालाई फेला पारिएको हो,” DSP थापाले भने, “उद्धारलगत्तै सुरक्षाकर्मीको टोलीले उहाँलाई प्राथमिक उपचार गरी सुरक्षित स्थानमा राखेको छ।”
उद्धार गरिएकी बालिकाको नाम र पारिवारिक पहिचान भने अझै खुल्न सकेको छैन। सुरक्षा निकायले बालिकाको थप उपचार र उनका अभिभावकको खोजी कार्यलाई एकसाथ अघि बढाएको छ।
अहिले रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोज, उद्धार तथा राहत वितरण कार्यलाई तीव्र बनाएको छ। बाढीका कारण टिमुरे र रसुवागढी क्षेत्रको जनजीवन नराम्ररी प्रभावित भएको छ भने थप क्षतिको विवरण सङ्कलन भइरहेको छ।

