झापा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत कार्य तीव्र पारिएको सरकारले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार हालसम्म ११ हजार ३ सय ७९ जनाको सकुशल उद्धार गरिएको छ भने ३ हजार ९ सय २५ जना अझै सम्पर्कविहीन छन्।

बाढीका कारण हालसम्म ९३९ जनाको शव फेला परेको छ। पहिचान हुन नसकेका शवहरूलाई ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका’ अनुसार डिएनए परीक्षणका लागि नमूना सुरक्षित राखी व्यवस्थापन भइरहेको छ।

प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री राहत कोषमा गरी ९ वाणिज्य बैंकमार्फत रु ५ अर्ब ८७ करोड ९२ लाख जम्मा भएको छ। यस्तै, हिमालयन र लक्ष्मी बैंकका खातामा ३१ लाख ९३ हजार अमेरिकी डलर प्राप्त भएको जनाइएको छ।
गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली नदीको दायाँ किनार हुँदै वैकल्पिक मार्ग सञ्चालनमा आएसँगै नुवाकोटको त्रिशूलीपारिको भू–भाग पुनः सदरमुकामसँग सीधा सडक सञ्जालमा जोडिएको छ। रसुवा र नुवाकोटका २७ वितरण केन्द्रमार्फत ३ हजार ६ सय ९६ प्रभावित नागरिकलाई राहत सामग्री वितरण गरिएको छ।
यातातयात सहज बनाउन देवीघाट, त्रिशूली र बेत्रावतीमा बेलिब्रिज राख्न अध्ययन पूरा भएको छ। नेपाललाई भारतबाट २३० फिटको मोडुलर स्टिल ब्रिजसहित थप ७ वटा र चीनबाट ३० वटा बेलिब्रिज प्राप्त हुने क्रममा रहेको छ।
बाढीबाट प्रभावित माथिल्लो त्रिशूली–१, रसुवागढी, चिलिमे र माथिल्लो त्रिशूली–३ ए लगायतका जलविद्युत् आयोजनाका सुरुङहरूमा सेना, प्रहरी र वैदेशिक टोलीसहितको संयुक्त टोलीले खोज र उद्धार जारी राखेको छ। नेपाली सेनाले विभिन्न आयोजना स्थलबाट दर्जनौँ मजदुर तथा प्राविधिकको उद्धार गरिसकेको छ।
धादिङमा ९८ प्रतिशत र नुवाकोटमा ८५ प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको छ भने टेलिकम र एनसेलका अधिकांश टावरहरू सञ्चालनमा आइसकेका छन्।
हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोका कारण आएको यो बाढी यस क्षेत्रकै ठूलो विपत्ति भएको बताउँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिमबारे अन्तर्राष्ट्रिय मञ्चहरूमा बलियो उपस्थितिसाथ आवाज उठाउनुपर्ने समय आएको उल्लेख गर्नुभयो।
सरकार अहिले प्रभावित नागरिकको मानसिक तथा शारीरिक पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन केन्द्रित रहेको छ।
