समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

झापामा एकै मञ्चबाट आमा-छोरीका दुई साहित्यिक कृति लोकार्पण

झापा । झापाको भद्रपुरमा आयोजित एक समारोहबिच आमा र छोरीका दुई अलग-अलग साहित्यिक कृति एकैसाथ लोकार्पण गरिएको छ। भद्रपुर पुस्तकालयको आयोजनामा मुक्तककार लता खरेलको मुक्तकसङ्ग्रह ‘शिशिरको जून’ र उनकी छोरी बालकवि सफलता फुयलको कवितासङ्ग्रह ‘आभा’ विमोचन गरिएको हो।

Advertisement

​शनिबार चन्द्रगढीस्थित वीरेन्द्र माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा भद्रपुर पुस्तकालयका अध्यक्ष प्रा. चिन्तामणि दाहालको सभापतित्व तथा प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्य रहेको थियो। कृतिहरूलाई सभापति दाहाल, प्रमुख अतिथि पोखरेल, विशिष्ट अतिथि समालोचक प्राध्यापक कविराज न्यौपाने, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीका साथै स्रष्टाका अभिभावकहरूले संयुक्त रूपमा लोकार्पण गरेका थिए।

Advertisement

​लोकार्पित कृतिहरूमध्ये ‘शिशिरको जून’ (मुक्तकसङ्ग्रह) को समीक्षा प्रा. चूडामणि वशिष्ठले र ‘आभा’ (कवितासङ्ग्रह) को समीक्षा समालोचक नमुना निरौला दाहालले गरेका थिए।

​समारोहमा दुवै कृतिबाट सिर्जना वाचनसमेत गरिएको थियो। ‘शिशिरको जून’ बाट मुक्तककार कृष्ण सुवेदी ‘निराकार’, रोमु अधिकारी, लक्ष्मी रायमाझी र उमेश लुइँटेलले मुक्तक वाचन गरेका थिए भने ‘आभा’ बाट कविहरू साङसेन पान्धाक, सुभद्रा भट्टराई, निर्मला कोइराला र हरि कट्टेलले कविता प्रस्तुत गरे। कार्यक्रममा केशव आचार्य, डा. रत्नमणि नेपाल, बाबुराम पोखरेल र केशु विरही लगायतका अतिथिहरूले शुभकामना व्यक्त गरेका थिए।

​सोही अवसरमा नेपाली साहित्यका विविध विधामा लामो समयदेखि योगदान पुर्‍याएबापत साहित्यकारहरू विवश पोखरेल, केशव आचार्य र डा. रत्नमणि नेपाललाई सम्मानपत्र, दोसल्ला तथा मालाद्वारा सम्मानित गरिएको थियो।

​लोकार्पित मुक्तकसङ्ग्रह ‘शिशिरको जून’ भित्र १८८ वटा मुक्तक र ‘आभा’ भित्र ३० वटा विविध विषयका कविता समावेश छन्। दुवै कृतिमा प्राज्ञ विवश पोखरेलको भूमिका रहेको छ भने कवितासङ्ग्रहमा वरिष्ठ कवि डा. विष्णुविभू घिमिरे र वरिष्ठ मुक्तककार उषा शेरचनको शुभकामना छ।

​’शिशिरको जून’ का प्रकाशक विक्रम फुयल हुन् भने ‘आभा’ का प्रकाशक लता खरेल र विक्रम फुयल (बालकविका आमाबुबा) रहेका छन्। स्रष्टा लता खरेल दुर्गा माध्यमिक विद्यालयकी शिक्षिका तथा सामाजिक अभियन्ता हुन् भने सफलता फुयल वीरेन्द्र माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छिन्।

​कार्यक्रममा स्वागत मन्तव्य बालकवि सफलता फुयालले राखेकी थिइन् भने सञ्चालन पत्रकार/कवि लीला अनमोल र तुलसीराम खरेलले गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article