संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा गएराति गोली हानेर एक शिक्षकको हत्या भएको छ। मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयमा कार्यरत ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको गोली प्रहार गरी हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार प्रसाद मैनालीका अनुसार बिहीबार राति करिब ७ बजेतिर शिक्षक राईमाथि गोली प्रहार भएको थियो।

विद्यालय परिसरमै बस्दै आएका राई खाना खाएर हात धुन बाहिर निस्किएका बेला उनीमाथि भरुवा बन्दुक प्रहार भएको प्रहरीले जनाएको छ। गोली लागेलगत्तै राई भुइँमा ढलेका थिए। घटनास्थलमा रहेकी सोही विद्यालयकी शिक्षिका टिकामाया राईका अनुसार गोली लागेर शिक्षक राईको देब्रे कोखबाट तीव्र रगत बगेको थियो।
प्रहरीका अनुसार विद्यालय नजिकैको स्थानबाट राईमाथि गोली चलाइएको प्रारम्भिक अनुमान छ। घटना कसले र कुन कारणले गराएको हो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको डिएसपी मैनालीले बताए।
घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा र इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।
भौगोलिक रूपमा दुर्गम मानिएको उक्त घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट करिब ६ घण्टाको पैदल दूरीमा पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको र प्रहरी टोली घटनास्थल पुगेपछि विस्तृत विवरण आउने जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
