हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

नेपाली सेनाको वीरता र समर्पण: विनाशकारी बाढी-पहिरोबीच ज्यान जोखिममा राखेर हजारौँको उद्धार, टनेलबाट २ जनाको जीवितै उद्धार

काठमाडौँ/रसुवा — भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा भीषण पहिरोपछि सिर्जित संकटपूर्ण स्थितिमा नेपाली सेनाले पुनः एकपटक आफ्नो अद्भूत वीरता, उच्च व्यावसायिकता र मानवीय समर्पणको उदाहरण पेस गरेको छ। रसुवाको दुर्गम टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका बाढी-पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार ३ सय भन्दा बढी सैनिक फौज अहोरात्र खटिएर खोज, उद्धार र राहत कार्यमा जुटेका छन्।

Advertisement

​प्राकृतिक विपत्तिका कारण सोहोरिएका डाँडाकाँडा र उद्वेलित नदीका बीच आफ्नो ज्यानको बाजी लगाउँदै सैनिक टोलीले २०८३ भाद्र १९ गते साँझ सम्म देखाएको उच्च मनोबल र कार्यकुशलताले आम नागरिकमा ठूलो भरोसा जगाएको छ।

Advertisement

​१. अद्भूत टनेल उद्धार: मृत्युको मुखबाट दुई जनाको जीवितै उद्धार

​अत्यन्तै जोखिमपूर्ण मानिएको त्रिशूली-३ ए जलविद्युत् आयोजनाको सुरुङ (टनेल) भित्र लेदो र पानीको परवाह नगरी प्रवेश गरेको नेपाली सेनाको ७५ जनाको टोली (सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा) ले दुई जना श्रमिकलाई जीवितै उद्धार गर्न सफल भएको छ।

​घोर अँध्यारो र अक्सिजनको कमी रहेको टनेलबाट कुशलतापूर्वक निकालिएका ती दुवै घाइतेलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँस्थित श्री वीरेन्द्र अस्पताल, छाउनी पुर्‍याइ उपचार भइरहेको छ। सोही स्थानबाट एक शव निकालिएको छ भने बाँकी टनेलहरू (त्रिशूली-३ बी, लाङटाङ, चिलिमे र माथिल्लो त्रिशूली-१) मा सेनाका विभिन्न टोलीहरू मड पम्प, बोट (Boat) र र्याफ्टको प्रयोग गरी निरन्तर खोजीमा जुटिरहेका छन्।

​२. आकाशबाट जीवनरक्षा: ५८ जनाको उद्धार

​सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएका विकट पहाडी क्षेत्रहरूबाट सर्वसाधारणको उद्धार गर्न नेपाली सेनाका ७ र गैरसैनिक ६ गरी १३ वटा हवाई साधन परिचालन गरिएका छन्। प्रतिकूल मौसमका बाबजुद सैनिक पाइलटहरूले साहसिक उडान भर्दै भाद्र १९ गते साँझसम्म ५८ जना गम्भीर घाइते तथा जोखिममा परेका नागरिकहरूलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएका छन्।

​३. ५५ इन्जिनियरको टोली युद्धस्तरमा: ‘एक्रो ब्रिज’मार्फत यातायात जोड्ने प्रयास

​यातायात ठप्प भई राहत सामग्री पुर्‍याउन कठिनाइ भएपछि नुवाकोटको देवीघाटस्थित तादी नदीमा वैकल्पिक पुल निर्माण गर्न नेपाली सेनाको इन्जिनियरिङ्ग फौजका ५५ जना जवानहरू वेश (Base) निर्माणमा खटिएका छन्। धादिङको गजुरीमा रहेको एक्रो ब्रिज (Acrow Bridge) लाई डाँडाकाँडा र बिग्रिएका सडकबाट ढुवानी गर्दै त्रिशूली पुर्‍याएर यथाशीघ्र पुल जडान गर्ने काम युद्धस्तरमा भइरहेको छ।

​४. जङ्गल र डाँडाकाँडामा सैनिक डाक्टरको पैदल गस्ती

​सेनाले केवल उद्धार मात्र नभई जनसमुदायमा सुरक्षाको प्रत्याभूति गराउन र स्वास्थ्य संकट पर्न नदिन डाक्टर अधिकृतहरूसहितको विशेष पैदल गस्ती टोली परिचालन गरेको छ। प्रभावित क्षेत्रका जङ्गल, डाँडाकाँडा, खोला किनार र बस्ती-बस्तीमा पुगेर सेनाको टोलीले स्थानीयलाई आपत्कालीन स्वास्थ्य सेवा र औषधि वितरण गरिरहेको छ।

​आपत्तिको यस कठिन घडीमा घाइतेहरूको उद्धार, शव व्यवस्थापन, अवरुद्ध राजमार्ग सुचारु गर्ने कार्यदेखि राहत वितरणसम्म नेपाली सेनाले देखाएको यो अभूतपूर्व सक्रियता र समर्पणले सम्पूर्ण देशबासीको शिर उच्च बनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)