झापा । लागूऔषध दुर्व्यसनका नकारात्मक असर र यसबाट जोगिने उपायबारे झापाको हल्दिबारीमा विद्यार्थीहरूलाई सचेत गराइएको छ। नेपाल रेडक्रस सोसाइटी हल्दिबारी उप-शाखाको आयोजना तथा चेतना नेपालको प्राविधिक सहयोगमा बिहीबार एक दिवसीय सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो।

हल्दिबारी वडा नं. १ मा आयोजित उक्त कार्यक्रममा स्थानीय सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका जुनियर र युवा रेडक्रस सर्कलका ७८ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा चेतना नेपालका अध्यक्ष एवम् प्रमुख प्रशिक्षक इन्द्रप्रसाद ओली तथा जनसम्पर्क अधिकारी प्रेमकुमार सेडाइले लागूऔषध दुर्व्यसनका सामाजिक, मानसिक र शारीरिक असरहरूबारे सहजीकरण गर्नुभएको थियो।
रेडक्रस सोसाइटी हल्दिबारी उप-शाखाका अध्यक्ष कर्णखर प्रसाईँको अध्यक्षतामा भएको कार्यक्रममा हल्दिबारी वडा नं. १ का वडा अध्यक्ष देवीबहादुर थापा प्रमुख अतिथि हुनुहुन्थ्यो। सभाध्यक्ष प्रसाईँले युवा पुस्तालाई गलत लतबाट जोगाउन विद्यालय स्तरमै सचेतना कार्यक्रमको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो।
कार्यक्रममा प्रमुख अतिथि थापासहित सरस्वती घिमिरे, शान्ता उप्रेती र शुभम खड्काले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यार्थी केन्द्रित यस्ता अभियानको प्रशंसा गर्नुभएको थियो।
स्थानीय जनप्रतिनिधि तथा शिक्षक प्रतिनिधिहरूको उपस्थिति रहेको सो कार्यक्रममा इन्दिरा सिवाकोटीले स्वागत मन्तव्य र सरिता न्यौपानेले सञ्चालन गर्नुभएको थियो।
