झापा। झापाको भद्रपुर नगरपालिका–२ स्थित ग्रीनफिल्ड इङ्ग्लिस स्कुलमा ‘लागू औषध दुर्व्यसन न्यूनीकरणमा विद्यार्थीको भूमिका’ विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। चेतना नेपाल परामर्श केन्द्रको आयोजना तथा विद्यालयको समन्वयमा आयोजित कार्यक्रममा कक्षा ८, ९ र १० का १५० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो।

विद्यार्थीलाई लागू औषधका कारण हुने शारीरिक, मानसिक तथा पारिवारिक असर र जोखिमबारे सचेत गराउँदै सकारात्मक जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल सन्देश राईले जानकारी दिनुभयो।

कार्यक्रममा चेतना नेपालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक इन्द्रप्रसाद ओली र प्रशिक्षक कल्पना भट्टराईले खराब सङ्गतबाट जोगिने उपाय र दबाब आएमा प्रतिरोध गर्ने तरिकाबारे प्रशिक्षण दिनुभएको थियो। यस्तै, विद्यालयका शैक्षिक संयोजक भक्त सुब्बाले विद्यार्थी जीवन व्यक्तित्व निर्माणको महत्त्वपूर्ण चरण भएकाले अनुशासन र असल सङ्गतलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
सोही अवसरमा लागू औषध दुर्व्यसन विरुद्ध निरन्तर गतिविधि सञ्चालन गर्न शिक्षा गिरिको अध्यक्षतामा २५ सदस्यीय ‘ग्रीनफिल्ड चेतना क्लब’ गठन गरिएको छ। क्लबको शिक्षक प्रतिनिधिको जिम्मेवारी समीर खड्कालाई दिइएको चेतना नेपालका कोषाध्यक्ष देवीभक्त आचार्यले जानकारी दिनुभयो।
कार्यक्रममा विद्यार्थीका तर्फबाट कक्षा १० की छात्रा जेनिशा राईले मन्तव्य राख्नुभएको थियो। चेतना नेपालका जनसम्पर्क अधिकारी प्रेमकुमार सेडाईंले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन संस्थाकी कार्यकारी प्रमुख एवम् प्रशिक्षक कल्पना भट्टराईले गर्नुभएको थियो।
