समाचार
हल्दिबारी संवाददाता ४ घण्टा अगाडि

​८ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल

झापा । सरकारले विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप ६ वटा शिखरलाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाएको छ।

​विश्व पर्वतारोहण तथा आरोहण महासंघ (UIAA) को काठमाडौँमा जारी साधारणसभाका अवसरमा नेपाल सरकारले नेपाल पर्वतारोहण संघ (NMA) मार्फत उक्त औपचारिक प्रस्ताव अघि सारेको हो। काठमाडौँमा सुरु भएको साधारणसभामा विश्वका विभिन्न देशका पर्वतारोहण महासंघका प्रतिनिधि, विज्ञ तथा सरोकारवालाहरूको सहभागिता छ।

​नेपालले छुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन प्रस्ताव गरेका शिखरहरूमा यालुङ काङ (८,५०५ मि.), कञ्चनजङ्घा दक्षिण (८,४७६ मि.), कञ्चनजङ्घा मध्य (८,४७३ मि.), ल्होत्से मध्य (८,४१० मि.), ल्होत्से शार (८,४०० मि.) र यालुङ काङ पश्चिम (८,०७७ मि.) रहेका छन्।

​उक्त प्रस्तावले अन्तर्राष्ट्रिय मान्यता पाएमा विश्वमा ८ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ भने नेपालमा मात्रै यस्ता हिमालको संख्या ८ बाट बढेर १४ पुग्नेछ।

​यी हिमालले मान्यता पाएमा नेपालको हिमाली पहिचान थप विस्तार हुनुका साथै विश्व पर्वतारोहणको नक्सामा देशको उपस्थिति अझ सुदृढ हुने विश्वास लिइएको छ। यसबाट नयाँ पर्वतारोहण गन्तव्यको पहिचान, आरोहण गतिविधिको विस्तार र साहसिक पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पुग्नेछ।

​नेपालले यसअघि सन् १९८२ र २०११ मा महासंघको साधारणसभा आयोजना गरिसकेको छ। यो तेस्रो पटक हो।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)