सिलगुढी, १३ नोभेम्बर : दार्जिलिंगका लोकसभा सांसद राजु बिष्टको विशेष पहल एवं उपस्थितिमा सिलगुढीमा तीनदिने “सांसद देउसी-भैलो महोत्सव २०२६” को आजदेखि भव्य शुभारम्भ भएको छ। महोत्सवको सफल सुरुवात र समापनको कामना गर्दै आज विधिवत रूपमा पूजा-अर्चना सम्पन्न गरियो।
यो भव्य महोत्सव आज १३ नोभेम्बरदेखि १५ नोभेम्बर २०२६ सम्म मिलनमोड फुटबल मैदान, सिलगुढीमा प्रत्येक दिन साँझ ५:०० बजेदेखि सञ्चालन भइरहेको छ।
देउसी र भैलोले हाम्रो प्रिय तिहार परम्पराको आशिष्, आनन्द र न्यानोपनलाई झल्काउने कुरामा जोड दिँदै सांसद बिष्टले यो महोत्सव केवल एउटा उत्सव मात्र नभई हाम्रो समृद्ध सांस्कृतिक विरासत र समुदायलाई आपसमा जोड्ने परम्पराप्रति एक उच्च सम्मान तथा प्रवर्द्धन भएको बताएका छन्।
यी तीन दिनसम्म चल्ने यस सांस्कृतिक उत्सवले संस्कृति, एकता र आपसी सद्भावको एक सुन्दर अवसरमा दार्जिलिंग पहाड, तराई, डुआर्स, सिक्किम र छिमेकी क्षेत्रका मानिसहरूलाई एकै ठाउँमा गोलबन्द गर्नेछ।
सांसद राजु बिष्टले आगामी दिनहरूमा हुने उत्सवका कार्यक्रमहरूमा सहभागिता जनाउन, सांस्कृतिक कार्यक्रमहरूको भरपूर आनन्द लिन र आउने पुस्ताका लागि हाम्रा अमूल्य परम्पराहरूलाई जगेर्ना गरी जीवित राख्न सम्पूर्ण क्षेत्रवासीलाई हार्दिक आह्वान तथा निमन्त्रणा गरेका छन्।
