समाचार
हल्दिबारी संवाददाता १० घण्टा अगाडि

बिर्तामोडमा शिक्षकका लागि दुईदिने शिक्षण सीप तालिम सुरु

बिर्तामोड (झापा) — शिक्षकहरूको शिक्षण क्षमता अभिवृद्धि गर्दै बालबालिकाको सिकाइलाई गुणस्तरीय बनाउने उद्देश्यले बिर्तामोडस्थित लिङ्कन मन्टेश्वरी स्कुलमा शिक्षकहरूका लागि दुईदिने तालिम सुरु भएको छ ।

​लिङ्कन मन्टेश्वरी स्कुलको आयोजनामा सुरु भएको उक्त तालिममा आयोजक विद्यालयसहित अर्जुनधारा एकाडेमी, हटिनेस स्कुल, निदि अंग्रेजी स्कुल, इडन गार्डन स्कुल र लोटस प्रि–स्कुलका शिक्षकहरूको सहभागिता रहेको छ ।

​तालिममा शिक्षण सीप, कक्षा व्यवस्थापन, बालमनोविज्ञान, व्यावहारिक सिकाइ तथा बालमैत्री शिक्षण विधिबारे प्रशिक्षण दिइँदै छ । तालिमको सहजीकरण इनसाइट पाथवेका प्रशिक्षकहरू पुष्पाञ्जली ठकुरी, फडिन्द्र दाहाल र कमला भट्टराईले गरिरहेका छन् ।

​विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षता तथा एनप्याब्सन झापाका उपाध्यक्ष मोहन आचार्यको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको हो । उद्घाटन सत्रमा विद्यालयका सञ्चालक सरोज पौडेलले तालिमको औचित्यमाथि प्रकाश पार्दै शिक्षकहरूको पेसागत दक्षता विकासमार्फत बालबालिकाको सिकाइ उपलब्धि सुधार्न तालिम आयोजना गरिएको बताए ।

​सो अवसरमा प्रमुख अतिथि आचार्य र प्याब्सन बिर्तामोडका सल्लाहकार उत्तम खनालले तालिम सफलताको शुभकामना व्यक्त गरेका थिए । उद्घाटन समारोहको सञ्चालन लिङ्कन मन्टेश्वरी स्कुलकी शिक्षिका स्वस्तिका भण्डारीले गरेकी थिइन् ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)