नेत्र बिक्रम बिमली / झापा । भारतले पश्चिम बंगालस्थित बागडोगरा विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरूको सहज सञ्चालनका लागि नेपालको पूर्वी आकाश (एयरस्पेस) प्रयोग गर्न प्रस्ताव गरेसँगै दुई देशबीच वर्षौंदेखि थाती रहेको हवाई प्रवेश मार्गको बहस पुनः सतहमा आएको छ। भारतको उक्त प्रस्तावमाथि नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक अध्ययन गरिरहँदा उड्डयन क्षेत्रका विज्ञहरूले यसलाई नेपालले लामो समयदेखि माग गर्दै आएका पश्चिमतर्फका हवाई रुट खुलाउने रणनीतिक अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।
भौगोलिक निकटताका कारण बागडोगरा विमानस्थलमा ठूला तथा अन्तर्राष्ट्रिय जहाज अवतरण र उडान गर्दा नेपालको पूर्वी हवाई मार्ग प्रयोग गर्न पाए भारतीय पक्षलाई उडान दूरी छोटिने, इन्धन बचत हुने र वायुसेवा कम्पनीको सञ्चालन खर्च घट्ने फाइदा छ। अन्तर्राष्ट्रिय उडानको सञ्जाल विस्तार हुँदा सीमावर्ती पूर्वी नेपालको पर्यटन तथा व्यापारमासमेत अप्रत्यक्ष सकारात्मक प्रभाव पर्न सक्ने भए पनि नेपालका लागि भने पश्चिमतर्फका हवाई प्रवेश बिन्दु नै सर्वाधिक प्राथमिकताको विषय बनेको छ।
हाल पश्चिम, मध्यपूर्व तथा युरोपेली मुलुकहरूबाट नेपाल आउने अधिकांश अन्तर्राष्ट्रिय उडानहरूले भारतको आकाश हुँदै बाराको सिमरा बिन्दुबाट मात्र प्रवेश गर्नुपर्ने बाध्यता छ। एउटै मात्र प्रवेश मार्ग हुँदा सिमराको आकाशमा हवाई ट्राफिक चाप बढ्ने मात्र होइन, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जहाजहरूले सिमरा घुम्नुपर्दा उडान समय र इन्धन खर्च अनावश्यक रूपमा बढ्ने गरेको छ। यही कारण अर्बौं रुपैयाँ लगानीमा निर्माण भएका यी दुई अन्तर्राष्ट्रिय विमानस्थलले अपेक्षाकृत व्यावसायिक गति लिन सकेका छैनन्।
नेपालले विगत एक दशकभन्दा लामो समयदेखि पश्चिमको महेन्द्रनगर र नेपालगन्ज नाकाबाट दुईतर्फी अन्तर्राष्ट्रिय हवाई प्रवेश बिन्दु (एयर इन्ट्री रुट) खुलाउन भारतसँग आग्रह गर्दै आएको छ। सन् २०१८ मा काठमाडौंमा भएको दुईपक्षीय प्राविधिक वार्तामा भारतले पूर्वतर्फ विराटनगर र जनकपुर तथा पश्चिमतर्फ महेन्द्रनगर र नेपालगन्जबाट हवाई प्रवेश बिन्दु दिन सैद्धान्तिक सहमति जनाए पनि सुरक्षा संवेदनशीलताको कारण देखाउँदै पश्चिमका रुट कार्यान्वयनमा आलटाल गर्दै आएको छ।
उड्डयन अधिकारीहरूका अनुसार महेन्द्रनगर र नेपालगन्जबाट सोझै प्रवेश तथा बहिर्गमन रुट खुलेमा भैरहवा र पोखरा विमानस्थलमा उडान भर्ने विदेशी वायुसेवा कम्पनीहरूको सञ्चालन लागत उल्लेख्य रूपमा घट्नेछ। यसले खाडी मुलुक, दक्षिण एसिया तथा तेस्रो मुलुकबाट आउने पर्यटक र वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सस्तो र छिटो हवाई सेवा उपलब्ध गराउन मद्दत पुग्नेछ। साथै, लुम्बिनी र पोखराको पर्यटन तथा आतिथ्य क्षेत्रमासमेत नयाँ व्यावसायिक उत्साह थपिने अपेक्षा गरिएको छ।
सम्बद्ध सरोकारवालाहरूले बागडोगराका लागि नेपाली आकाश प्रयोग गर्न दिने भारतको प्रस्तावमाथि निर्णय लिनुअघि नेपालले आफ्ना राष्ट्रिय गौरवका विमानस्थलहरूको दिगो सञ्चालनलाई केन्द्रमा राख्नुपर्ने बताएका छन्। पारस्परिक लाभ र समानताका आधारमा बागडोगराका लागि पूर्वी आकाश खुलाउँदा बदलामा महेन्द्रनगर र नेपालगन्ज रुटलाई पूर्णकालीन र दुईतर्फी रूपमा सञ्चालनमा ल्याउने स्पष्ट सहमति जुटाउन सके दुवै देशको उड्डयन र पर्यटन क्षेत्रमा दूरगामी लाभ पुग्ने देखिएको छ।
