कमल उप्रेती । गोरेस्वर (असम), २४ नोभेम्बर । असम राज्यको गोरेस्वर विधानसभा क्षेत्रअन्तर्गत बङ्गालीपारा उपरखुटी गाउँमा गए राति करिब ५० वटा जङ्गली हात्तीको हुल पसेर किसानको बालीनालीमा व्यापक क्षति पुर्याएको छ ।
किसानहरूले वर्षभरि मिहिनेत गरी काटे र भित्र्याउन ठिक्क पारेको ११ बिघा जमिनको पाकेको सुनौलो धानबाली हात्तीको हुलले खाएर तथा कुल्चेर पूर्ण रूपमा नष्ट गरिदिएको छ । यसैगरी हात्तीको उपद्रवबाट स्थानीय दुई किसान परिवारका करिब २०० बोट सुपारीसमेत भाँचिएर क्षतिग्रस्त भएका छन् ।
अचानक भएको जङ्गली हात्तीको आक्रमणका कारण ठुलो आर्थिक नोक्सानी बेहोरेका पीडित किसानहरूले तत्काल राहत तथा क्षतिपूर्तिको माग गरेका छन् । उनीहरूले असमका वनमन्त्री जयन्त मल्ल बरुवा तथा ४४ नम्बर गोरेस्वर विधानसभा क्षेत्रका विधायक भिक्टर कुमार दाससमक्ष क्षतिको यथार्थ मूल्याङ्कन गरी यथाशीघ्र उचित क्षतिपूर्ति उपलब्ध गराइदिन आग्रह गरेका छन् ।
