समाचार
हल्दिबारी संवाददाता ३ घण्टा अगाडि

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै झापासहित देशभर धर्ना, ‘सामूहिक गिरफ्तार गर’ नारा

झापा । समाचारको स्रोत खोज्ने नाममा सञ्चारगृहमा प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना तथा प्रेस स्वतन्त्रता संकुचन गर्ने प्रयासको विरोधमा नेपाल पत्रकार महासंघले झापासहित देशभर धर्ना तथा विरोध कार्यक्रम गरेको छ ।

​मंसिर ९, २०८३ मा महासंघको झापा शाखाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय झापा र इलाका प्रशासन कार्यालय दमकअगाडि पत्रकारहरूले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ र ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला बन्द गर’ लेखिएका ब्यानरसहित धर्ना दिएका हुन् ।

​जिल्ला प्रशासन कार्यालय झापामा आयोजित कोणसभालाई महासंघका झापा शाखा सभापति एकराज गिरी, पूर्वसभापतिद्वय गणेश पोखरेल, मोहन काजीलगायत विभिन्न संघ–संगठन तथा क्लबका प्रतिनिधिहरूले सम्बोधन गर्दै आन्दोलनप्रति ऐक्यबद्धता जनाएका थिए । वक्ताहरूले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याएर प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोजिएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउने कार्यमा संलग्नमाथि कारबाही नगरिएकोप्रति गम्भीर आपत्ति जनाए ।

​यसैगरी महासंघले गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकार हनन भएको र प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार लोककल्याणकारी विज्ञापनबापतको रकम उपलब्ध नगराइएको विषयलाई पनि आन्दोलनमा जोडदार रूपमा उठाएको छ ।

​समाचारको स्रोत खोज्दै मिडिया हाउसमा हस्तक्षेप गर्ने कार्य लोकतन्त्रको आधारस्तम्भमाथिको प्रहार भएको भन्दै महासंघले राज्यपक्षको हस्तक्षेप तत्काल रोकी पत्रकारलाई निर्भयतापूर्वक काम गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)