समाचार
हल्दिबारी संवाददाता १८ मिनेट अगाडि

 ई-रिक्सा अनियन्त्रित भई दुर्घटना, चालकसहित ७ यात्रु घाइते

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ स्थित बाँके–संग्रामपुर सडकखण्डअन्तर्गत बाँकेचोक नजिकै ई-रिक्सा दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । मिति २०८३ मङ्सिर १० गते दिउँसो करिब १२:३० बजे बाँकेचोकबाट श्रीनगरतर्फ जाँदै गरेको म.प्र.-०३-००१ ह ६३११ नम्बरको ई-रिक्सा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते हुनेहरूमा ई-रिक्सा चालक ईश्वरपुर नगरपालिका–१३ श्रीनगर बस्ने ४६ वर्षीय प्रमेश्वर महतो कोइरी र सोही स्थानका रामचन्द्र सिंह महतोकी ७० वर्षीया श्रीमती सुगावती देवी महतो रहेका छन् । यस्तै, महोत्तरीको गौशाला नगरपालिका–१२ पुरानो कान्तिबजार बस्ने ७० वर्षीय बलदेव राम र सोही ठाउँका मुकेश रामकी ४० वर्षीया श्रीमती सुनिता राम पनि दुर्घटनामा घाइते भएका छन् । त्यसैगरी, रौतहटको चन्द्रपुर नगरपालिका–८ शान्तपुर बस्ने नागेश्वर माझीका ४० वर्षीय छोरा लालबाबु माझी, उनकी ३५ वर्षीया श्रीमती बालकुमारी माझी तथा सर्लाहीको हरिपूर्वा नगरपालिका–९ बस्ने राजमिन्द्र चौधरीका १७ वर्षीय छोरा अमलेश कुमार चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूमध्ये सुनिता राम र बालकुमारी माझीको अवस्था सामान्य रहेको छ भने चालक कोइरीसहित अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ । घाइतेमध्ये छ जनाको महारानी बजारस्थित महारानी हेल्थ केयरमा र एक जनाको लालबन्दी मोडल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी फुलजोरबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पठाएको थियो । प्रहरीले दुर्घटनामा संलग्न ई-रिक्सालाई नियन्त्रणमा लिई प्रहरी चौकी फुलजोरमा राखेको छ भने घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)