झापा । १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान चलिरहेका बेला लागूऔषध दुर्व्यसन र लैङ्गिक हिंसाबीचको सम्बन्धलाई गम्भीर रूपमा लिनुपर्ने औँल्याइएको छ। चेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद ओलीले लागूऔषध दुर्व्यसनले परिवार, महिला, बालबालिका र समग्र समाजमा लैङ्गिक हिंसाको जोखिम बढाउने बताउनुभएको हो।
लैङ्गिक हिंसा लिङ्गका आधारमा गरिने दुर्व्यवहार, शोषण वा हिंसा भएको उल्लेख गर्दै उहाँले शारीरिक, मानसिक, यौनिक, आर्थिक र सामाजिक गरी पाँच प्रकारका हिंसा हुने स्पष्ट पार्नुभयो। कुटपिट मात्र नभई अपमानजनक शब्द प्रयोग, चरित्रमा शङ्का, आर्थिक दबाब तथा बोलचाल बन्द गर्नुसमेत हिंसाकै रूप भएको उहाँको भनाइ छ। नेपालको घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६ ले परिवारभित्र हुने सबै प्रकारका हिंसालाई कसूर मानेकाले पीडितले उजुरी गर्न सक्ने व्यवस्था रहेको उहाँले स्मरण गराउनुभयो।
लागूऔषधले व्यक्तिको विवेक र आत्मनियन्त्रण गुमाउने तथा परिवारमा अशान्ति निम्त्याउने ओलीले बताउनुभयो। नशाको प्रभावले रिस नियन्त्रण नहुने, घरखर्च र बालबालिकाको पढाइ प्रभावित हुने, महिलामाथि शारीरिक, मानसिक, आर्थिक र यौनिक हिंसा बढ्ने तथा बालबालिकामा नकारात्मक असर पर्ने उहाँको विश्लेषण छ। त्यस्तै, टोल र समाजमा झैझगडा, चोरी र असुरक्षा बढ्ने अवस्था सिर्जना हुने उहाँले उल्लेख गर्नुभयो।
समस्या समाधानका लागि परिवारबाटै संवाद सुरु गर्नुपर्ने, दुर्व्यसनलाई रोगका रूपमा लिई उपचारमा लैजानुपर्ने, हिंसापीडित महिलालाई न्यायका लागि साथ दिनुपर्ने र युवालाई खेलकुद, सीप, योग, ध्यान तथा रोजगारीमा जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो। लागूऔषधले व्यक्तिभित्रको रिस र हिंसात्मक प्रवृत्ति बाहिर ल्याउने भएकाले नशा नियन्त्रण गर्न सके लैङ्गिक हिंसा स्वतः न्यूनीकरण हुने उहाँको धारणा छ।
