समाचार
हल्दिबारी संवाददाता १८ मिनेट अगाडि

भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सिफारिस

काठमाडौँ, मंसिर ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी लामो समयदेखि बेपत्ता रहेका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गरिएको छ। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३८औँ बैठकले उक्त निर्णय गरेको हो।

​सिफारिस गरिएकामध्ये देशका ४८ जिल्लाबाट विवरण प्रमाणित भएका ३ हजार २९२ जना नेपाली नागरिक रहेका छन् भने १९ वटा विदेशी नियोगबाट प्राप्त विवरणका आधारमा पहिचान खुलेका ६२३ जना विदेशी नागरिक छन्। विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) अनुसार विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई सरकारले मृत घोषणा गर्न सक्ने कानुनी व्यवस्था छ। सोही प्रावधानअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाली नागरिकका हकमा स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस तथा विदेशी नागरिकका हकमा सम्बन्धित देशका नेपालस्थित नियोगको विवरणका आधारमा दाबी पेस गर्न दुई चरणमा सातदिने सार्वजनिक सूचना जारी गरेको थियो।

​बैठकले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न नीतिगत निर्णयसमेत गरेको छ। जसअन्तर्गत सन् २०३० (वि.सं. २०८७) सम्म देशका सबै समुदायमा विपद् पूर्वसूचना पुर्‍याउने लक्ष्यसहितको ‘सबैका लागि पूर्वसूचना’ राष्ट्रिय मार्गचित्र २०८३–२०८७ स्वीकृत गरिएको छ। यस योजनाले बहुप्रकोप पूर्वसूचना प्रणालीको विस्तार र स्तरोन्नतिमा जोड दिनेछ। यसैगरी, बैठकले वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ सहितको कार्ययोजना (२०८३/८४–२०९१/९२) र वायु प्रदूषणबाट उत्पन्न हुने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि राष्ट्रिय कार्ययोजना २०८३–२०८७ लाई पनि पारित गरेको छ।

​कार्यकारी समितिले विपद्को उच्च जोखिममा रहेका विभिन्न जिल्लाका कुल ११८ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णयसमेत गरेको छ। जसअनुसार डडेल्धुराको आलिताल गाउँपालिका–१ स्थित भोका र माला गाउँका २४ तथा वडा नं. २ बलौचा गाउँका २२ घरधुरीलाई सुरक्षित स्थानमा सारिनेछ। त्यसैगरी, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित मुडुङ्गे बस्तीका ४० घरधुरीलाई सोही नगरको फुदवाङमा र गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित देवल गाउँका ३२ घरधुरीलाई सोही पालिकाको फिलिम गाउँमा स्थानान्तरण गर्ने स्वीकृति दिइएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)