समाचार
हल्दिबारी संवाददाता २१ मिनेट अगाडि

बाख्रीको मासुलाई खसी भन्दै बेच्ने ८ जना पक्राउ

काठमाडौँ, मंसिर १२ — काठमाडौँ महानगरपालिका-२८ टुकुचास्थित खसी बजारमा बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा पुगेर चेकजाँच गर्ने क्रममा मासु लोड गर्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार घटनास्थलबाट अन्दाजी ५६७ किलोग्राम बाख्रीको मासुसहित बा ५ झ ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडी समेत बरामद गरिएको छ। पक्राउ पर्नेहरूमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-२ घर भई हाल काठमाडौँको टेकु बस्ने ४० वर्षीय दिल बहादुर मोक्तान, मुगुको सोरुकोट घर भई टुकुचा बस्ने ३२ वर्षीय करण बानियाँ तथा ललितपुरको महालक्ष्मी नगरपालिका-५ घर भएका ५० वर्षीय मनोज थापा रहेका छन्।

यसैगरी धादिङको गजुरी गाउँपालिका-१ घर भई बागबजार बस्ने २६ वर्षीय सनय तामाङ र सोही स्थान घर भई हाल सोही क्षेत्रमै बस्ने २२ वर्षीय राजु लामा पनि पक्राउ परेका छन्। प्रहरीले काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ घर भएका २७ वर्षीय टेक बहादुर तामाङ, दोलखाको मेलुङ गाउँपालिका-१ घर भई पुतलीसडक बस्ने २१ वर्षीय निखिल उप्रेती तथा काभ्रेपलाञ्चोककै भुम्लु गाउँपालिका-२ घर भई काठमाडौँको मजुवाताल बस्ने २५ वर्षीय दिनेश महतलाई समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)