काठमाडौ , १७ असार: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ को आफ्नो अनिवार्य वित्तीय घोषणा विवरण सार्वजनिक गर्दै गत वर्ष क्रिप्टोकरेंसी (क्रिप्टो) सम्बद्ध व्यवसायबाट एक अर्ब डलरभन्दा बढी आम्दानी गरेको खुलासा गरेका छन्। कूल ९२७ पानाको उक्त विस्तृत वित्तीय विवरण अनुसार ट्रम्प राष्ट्रपति पदमा बहाल हुनभन्दा केही दिन अघि मात्र लन्च गरिएको ‘ट्रम्प मिम कोइन’ बाट उनले ६३ करोड ५० लाख डलर रोयल्टी प्राप्त गरेका थिए, यद्यपि त्यसपछि उक्त कोइनको मूल्यमा भारी गिरावट आएको छ।

​यसका साथै आफ्ना छोराहरू र विशेष दूत स्टिभ विटकफका सन्ततिहरूद्वारा स्थापित ‘वर्ल्ड लिबर्टी फाइनान्सियल’ नामक क्रिप्टो कम्पनीबाट उनले ५० करोड डलरभन्दा बढी कमाई गरेका छन्। ट्रम्पले आफ्नो परम्परागत रियल एस्टेट व्यवसाय र ट्रम्प ब्रान्डका घडी, बाइबल, जुत्ता, पर्फ्युम तथा गितार जस्ता सामग्रीको बिक्रीबाट पनि करोडौँ डलर संकलन गरेका छन् भने प्रथम महिला मेलानिया ट्रम्पले आफ्नो डकुमेन्ट्री र एनएफटी बिक्रीबाट एक करोड ६७ लाख डलर कमाएकी छन्।

​ह्वाइट हाउसले ट्रम्पमाथि लागेको राष्ट्रपति पदको दुरुपयोग गरी निजी मुनाफा कमाएको आरोपको पूर्ण खण्डन गर्दै ट्रम्पको व्यवसाय एक ट्रस्टमा रहेको र त्यसको व्यवस्थापन उनका छोराहरूले गरिरहेको स्पष्ट पारेको छ। फोर्ब्स र ब्लूमबर्गका अनुसार ट्रम्पको कुल सम्पत्ति ६ देखि ७.६ अर्ब डलरको बीचमा पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार