हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

आज महानवमी, देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ, ६ कात्तिक । बडादसैँ अर्थात् नवरात्रको नवौँ दिन आज महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी आज दसैँघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), देवीभागवत एवं देवी स्तोत्र पाठ गरी मनाइँदै छ ।

Advertisement

आज महानवमीका दिन काठमाडौँ उपत्यकाका गुहृयेश्वरी, मैतीदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, इन्द्रायणीमा विशेष पूजा तथा दर्शन गर्न ठूलो सङ्ख्याका नागरिक पुगेका थिए ।

Advertisement

यसैगरी उपत्यका बाहिर नवलपुरको मौलाकालिका, धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, दाङको अम्बिकेश्वरी, डडेल्धुराको उग्रतारा, बैतडीको त्रिपुरासुन्दरी, डोटीको शैलेश्वरी लगायतका शक्तिपीठमा पुजा पाठ गर्ने तथा पशुवली दिने भक्तजनहरुको बिहानैदेखि घुइँचो लागेको थियो ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेकाले आज दिनभर जसो शक्तिपीठमा भक्तनहरुको भीड लागेको थियो । वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गर्दछन् । यसरी विभिन्न देवस्थल तथा घरघरमा नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ ।

दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । दुर्गा भगवतीका यिनै नौ रुपलाई नवदुर्गा भन्ने गरिएको हो ।

यसैबीच काठमाडौँ उपत्यकाका नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, सङकटा, नरदेवीलगायत शक्तिपीठमा रङगीचङगी बत्तीहरुले सजाइएको छ । यी शक्तिपीठमा नागरिकहरु बिहानदेखि रातिसम्म नै पूजाआजाका लागि पुग्ने गरेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)