बिर्तामोड (झापा) — बिर्तामोडका रात्रीकालीन मनोरञ्जन गृह (डान्सबार) हरू निर्धारित समय सीमाभित्र सञ्चालन नगरेको आरोपमा प्रहरीले एक सञ्चालक र सुरक्षा गार्डविरुद्ध कानुनी कारबाही अघि बढाएको छ । स्थानीय प्रशासनले तोकेको समयभन्दा ढिलासम्म बार सञ्चालन गरेको र पटक–पटकको चेतावनीलाई बेवास्ता गरेको भन्दै प्रहरीले ‘गन्तव्य लाउन्ज एन्ड बार’ का दुई जनालाई पक्राउ गरी मुद्दा दर्ता गरेको हो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले बिहीबार बिहानको राति करिब २ बजे ‘गन्तव्य लाउन्ज एन्ड बार’ मा छापा मारी बारका सञ्चालक निर्भीक शिवाकोटी र त्यहाँ कार्यरत सेक्युरिटी गार्ड अमिन राईलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले पुष्टि गरेको छ । प्रहरीका अनुसार सञ्चालक शिवाकोटी भने पक्राउ परेपछि अस्वस्थ भएका कारण हाल बीएण्डसी अस्पतालमा उपचार गराइरहेका छन् ।

बिर्तामोड क्षेत्रमा हाल ‘गन्तव्य लाउन्ज एन्ड बार’ सहित आधा दर्जनभन्दा बढी डान्सबारहरू सञ्चालनमा छन्, जसलाई स्थानीय प्रहरी प्रशासनले शान्ति सुरक्षा र सामाजिक सद्भावलाई मध्यनजर गर्दै राति ११ बजेसम्म मात्र सञ्चालन गर्न पाउने अनुमति दिएको छ । तर, प्रशासनिक नियमलाई चुनौती दिँदै केही डान्सबारहरू रातभरि सञ्चालन हुँदा बजार क्षेत्रमा विकृति र असुरक्षा बढेको भन्दै स्थानीय स्तरमा गुनासो बढ्दै गएको थियो । पटक-पटक नियन्त्रणमा लिने र छाड्ने गर्दा समेत अटेर गरेपछि यसपटक प्रहरीले कडा कानुनी बाटो रोजेको बुझिएको छ ।
