सरकारले काठमाडौं उपत्यकामा रहेका सबै सरकारी अस्पतालाई कोभिड-१९ का बिरामीको उपचार केन्द्रमा परिणत गर्ने निर्णय गरेको छ। सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले राजधानी उपत्यकामा सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गर्ने निर्णय लिएको हो।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङका क्रममा सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय भएको जानकारी दिए। सबै सरकारी अस्पताल कोभिड अस्पतालमा परिणत भएसँगै मन्त्रालयले स्वास्थ्य सेवा विभागमा रहेका भेन्टिलेटर, आइसियु र अक्सिजनसहितका सामाग्री कोभिडका बिरामीको उपचारमा लगाउन निर्णय पनि गरेको गौतमले बताए।

गौतमका अनुसार स्वास्थ्य सचिव लक्षमण अर्याल संयोजक रहेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले अब अस्पतालहरुले होटललाई पनि आइसोलेसन बनाउन पाउने भएका छन्। अस्पतालहरुले होटलसँगको सहकार्यमा ‘होटल आइसोलेसन सेन्टर’ सञ्चालन गर्ने गरी अनुमति दिइएको गौतमले बताए। तर ती होटलमा कोभिड-१९ का संक्रमितलाई मात्रै राख्नुपर्ने भएको छ। यस्ता होटलमा संक्रमितबाहेक अरुलाई राख्न पाइने छैन ।
मन्त्रालयले दहचोकमा रहेको प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज र कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र शिक्षण अस्पताललाई लक्षणसहितका कोभिड-१९ संक्रमितको उपचार गर्ने अस्पतालको रुपमा स्तरोन्ति गर्ने निर्णय गरेको छ।