सरकारी कागज छाप दरखास्त किर्ते मुद्दामा दोषी ठहर भई फरार रहेकी एक महिलालाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-४ बस्ने ३५ वर्षीया सुनिता लिम्बू रहेकी छन्।
ताप्लेजुङ जिल्ला अदालतको फैसलाअनुसार सरकारी कागज छाप दरखास्त किर्ते मुद्दामा लिम्बूलाई १० महिना २ दिन कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको थियो। अदालतको सजाय कार्यान्वयन हुन बाँकी रहेकै अवस्थामा उनी फरार रहँदै आएकी थिइन्।
हिजो दिउँसो ४ बजे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी सहायक हवल्दार सुजन श्रेष्ठको कमान्डमा खटिएको सादा पोसाकको टोली र प्रहरी चौकी बिर्ता बजारबाट प्रहरी सहायक निरीक्षक छत्रकुमारी श्रेष्ठको कमान्डमा परिचालित संयुक्त टोलीले लिम्बूलाई उनकै घरबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेकी लिम्बूलाई हाल इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ।