समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

इटहरीमा मोटरसाईकल चोर्दै गर्दा दुई पक्राउ

दिपेश कार्की बिराटनगर । दसैँ किनमेलको भिड, त्यसमा पनि शनिवारको दिन । बिहान करिब ११ बजेको समयमा दुई व्यक्ति इटहरीको गोरखा डिपार्टमेन्ट स्टोर अगाडीको पार्किङ गरिएको एक बाइक नजिक उभिएर शङ्कास्पद गतिविधि देखाउन थालेपछि त्यही डिउटीमा खटिएका सादा पोसाकका एक प्रहरीलाई शङ्का लाग्छ ।
सुरुमा एक जना पार्किङ गरी राखेको बाइक छेउमा बसेर धेरै पटक बाइक नियाल्छन् । अर्को व्यक्ति भने मान्छेको निगरानी गर्छन् । करिब १५ मिनेट पछि एक जनाले गोजीबाट ‘मास्टर’ चाबी निकाल्दै निलो रगंको पल्सरमा चाबी घुसाउँछन् । तर चाबीले काम नगरेपछि दुवै जना त्यहाँबाट पैदल मार्फत इटहरी चौक हुँदै पूर्व लाग्छन् । बाइक चोरी गर्ने उनीहरूको योजना स्पष्ट भएपछि प्रहरीले उनीहरूलाई फलो गर्न थाल्छ ।
बिचमा थप मद्दत बोलाएर ४ जनाको सादा पोसाकको प्रहरीले दुवैलाई पछ्याउन थाल्छन् । टेग्रा पुलमा लाग्ने बुधबारे हाट तर्फ उनीहरू मोडिन्छन् । केही अलमल गरे जस्तै गरी उनीहरू दुवै रिजाल भिजन पार्टी प्यालेस अगाडीको पान पसलमा भोला खरिद गर्छन् । त्यही अगाडी पार्किङ गरेको २२० सिसिको पल्सरमा उनीहरूको ध्यान पुग्छ । एक जना फेरी बाइक नजिक पुग्छन् र बाइक नियाल्छन् ।
तर बाइकका धनी केही क्षणमै आएर बाइक त्यहाँबाट लैजान्छन् । दोस्रो पटकको प्रयास पनि असफल भएपछि उनीहरू केही समय त्यही टोलाउँछन् । यता चारै दिशाबाट सादा पोसाकका प्रहरीले उनीहरूलाई घेरेर उनीहरूको गतिविधि लाइभ नियाली रहेका हुन्छन् । केही क्षणपछि रिजाल भिजन पार्टी प्यालेस छिर्ने बाटोमा हिरो कम्पनीको को २४ प ७५९६ नम्बरको सुपर स्पेलेन्डर रोकिन्छ । बाइक मालिक बजार भर्न निस्कन्छन् । त्यही मौकामा उनीहरूको साथमा रहेको मास्टर चाबीको मद्दतले बाइकको लक खोल्न खोज्छन् । लाइभ हेरिरहेका प्रहरीले उनीहरूलाई बाइकसहित केही मिटर अगाडी बढेपछि मात्र रङगेहात पक्राउ गर्ने योजना बनाउँछन् ।
नभन्दै मास्टर चाबीले लक खुल्छ र बाइक स्टाट हुन्छ । दुवै जना बाइक स्टाट गरेर उत्तर तर्फ भाग्न खोज्छन् । तर केही मिटर अगाडीमा ‘स्टेनवाई’ बसेको प्रहरीले उनीहरूलाई तत्कालै रङगेहातनै पक्राउ गर्छ । उनीहरूको तेस्रो पटकको योजना भने सिधै प्रहरीले फेल बनाउन सफल हुन्छ । पक्राउ पर्नेमा देवानगंज गाउँपालिकाका ३ का २१ वर्षीय मनोज मेहता र सोही स्थान बस्ने वर्ष २० का रमेश मेहता छन् ।
प्रहरीले उनीहरूको साथबाट एक थान मास्टर चाबी समेत बरामद गरेको छ । उनीहरूलाई प्रहरीले ४ घण्टासम्म फलो गरेका थिए । चाडपर्वमा हुने भिडभाडलाई टार्गेट गरी बाइक चोरी तथा लुटपाट गर्ने यस्ता गिरोह समूहहरू ‘एक्टिभ’ हुने आकलनपछि इलाका प्रहरी कार्यालय इटहरीले बजारका भिडभाड जन्य स्थानमा सादा पोसाकका प्रहरी परिचालन गरेको थियो । भिडभाड जन्य स्थानमा शङ्कास्पद गतिविधि गर्नेहरूको निगरानी बढाइएको कारण बाइक चोरी हुने बाट जोगिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाको थप अनुसन्धान अघि बढाइएको छ l
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article