हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

खुल्न थाले विद्यालय, तर कोरोना संक्रमणको जोखिम उस्तै

कमला भट्टराई ,झापा । कोरोना महामारीकाबीच मोरङमा विद्यालय खुल्न थालेका छन् । कोरोना महामारीका कारण नयाँ शैक्षिक सत्रअनुसार कक्षा सञ्चालन गर्न नपाएका दुई स्थानीय तहले विद्यालय सञ्चालन सुरु गरेका छन् । संक्रमणको जोखिमका बीच ६ पालिकाले सोमबारबाट एकैसाथ कक्षा सञ्चालन गर्ने निर्णय गरेका छन् ।

Advertisement

रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, रंगेली नगरपालिका, धनपालथान गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाका सोमबारबाट विद्यालय खुला गर्नेछन् । मोरङको कानेपोखरी गाउँपालिकाले बुधबारबाट विद्यालय सुचारु गरेको छ । बूढीगंगा गाउँपालिकाको नरग्राम माध्यमिक विद्यालयले ८ मंसिरबाट दुई सिफ्टमा विद्यालय सञ्चालन गरिरहेको छ । चिसो मौसममा कोरोना भाइरस फैलने जोखिम बढ्दो छ ।

Advertisement

महामारीको बेला विद्यालय सञ्चालन गर्दा संक्रमण फैलन सक्ने जोखिम हुने जनस्वास्थ्यविद डाक्टर नवराज सुब्बा बताउँछन् । संक्रमणको जोखिम कम भएका पहाडी जिल्लामा भने सतर्कतासहित विद्यालय सञ्चालन गर्न सहज हुने उनले बताए । मोरङमा मात्रै ११ हजार ८७८ जना कोरोना संक्रमित छन् । यो संख्या बढ्दो क्रममा छ ।

‘विद्यालय खुला गर्ने हुँदा हात धुने र बस्ने व्यवस्थामा ध्यान दिनुपर्छ,’ सुब्बा भन्छन्, ‘हामीकहाँ धेरै विद्यार्थी हुन्छन् । जसले गर्दा व्यवस्थापन गर्न गाह्रो हुनसक्छ ।’ जोखिम बढिरहेको अवस्थामा स्थानीय तहले विद्यालय खुला गर्न थालेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला बताउँछन् । विद्यालय खुल्दा प्रशासनसँग समन्वय नभएको उनले बताए । विद्यालय सञ्चालन गर्दा बालबालिकामा संक्रमणको जोखिम बढ्छ,’ उनी भन्छन्, ‘स्थानीय तहले विद्यालय खुला गरेपनि हामीसँग समन्वय गरेका छैनन् ।’

सोमबारबाट विद्यालय खुला गर्ने तयारीमा रहेको कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामत कोरोनाको जोखिम कम भएकाले विद्यालय खुला गर्ने निर्णय भएको बताउँछन् । विद्यार्थीलाई कोरोना देखिहाले जाँच गरी होम आइसोलेशनमा बस्न लगाउने उनले बताए । ‘कोरोना जाँच गर्न हिजोको जस्तो चासो कसैले दिँदैनन्,’ उनी भन्छन्, ‘पोजेटिभ आए होम आइसोलेशनमा नै बस्छन् । अहिले जोखिम धेरै कम छ ।’

मोरङका दक्षीणी क्षेत्रका ६ वटा पालिकाले संयुक्त रूपमा निर्णय गरेर विद्यालय खुला गर्ने तयारी भएको उनले बताए । ६ वटा पालिकाले विद्यालयमा विद्यार्थी–शिक्षकहरूलाई अनिवार्य साबुन पानीले हात धुने व्यवस्था गर्ने, विद्यालयले प्रत्येक विद्यार्थीको थर्मल गन प्रयोग गरी अनिवार्य तापक्रम नाप्ने व्यवस्था गर्ने, थर्मल गनको व्यवस्था पालिकाले गर्ने, विद्यालयले प्रत्येक हप्ता विद्यालय डिसइन्फेक्ट गर्ने व्यवस्था मिलाउने छन् ।

कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयलाई दिवा सत्रमा र कक्षा ६ देखि १२ सम्म सञ्चालित विद्यालयहरूलाई बिहानी सत्रमा सामाजिक दूरी कायम गरी सञ्चालन गर्नेछन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)