झापा । पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीहरुले पर्यटन पुनरुत्थान तथा प्रवर्द्धनका लागि ‘जाऔं है पोखरा’ अभियान शुरु गरेका छन् । अभियान अन्तर्गत बुधबार उनीहरुले पर्सा राष्ट्रिय निकुञ्ज र वीरगञ्जमा सरोकारवालासँग भेटघाट गरेका छन्।

कोभिड–१९ का कारण थलिएको होटल तथा पर्यटन व्यवसायको पुनरुत्थान तथा प्रवर्द्धनका लागि अभियान शुरु गरिएको पश्चिमाञ्चल होटल संघ पोखराले जनाएको छ। यो अभियान पोखराको लागि मात्रै नभएर समग्र नेपालकै आन्तरिक पर्यटन प्रवर्द्धनमा योगदान दिने कार्यक्रम भएको सन्देश दिन संघले वीरगञ्ज, जनकपुर, विराटनगर र चितवनमा सरोकारवालासँग अन्तरक्रिया गर्दैछ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले आपसी हित र एकता कायम गर्न अभियानले सघाउ पुग्ने बताउनुभयो। पोखरामा आकर्षक पर्यटकीय स्थलसहित साहासिक खेलको मनोरञ्जन लिन सकिन्छ। आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ५० प्रतिशतसम्म छुटको योजना ल्याएको संघका अध्यक्ष तुलाचनले बताउनुभयो। पश्चिमाञ्चल होटल संघमा गण्डकी प्रदेश क्षेत्रका पाँचतारेदेखि पर्यटकीय स्तरका होटल, लज र रिसोर्ट गरी तीन सय सदस्यहरु आवद्ध छन् ।
संघले पोखरा र आसपासका क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न फेवा नव वर्ष महोत्सव, खाना, दाइँ, भाईटीका महोत्सव, चंगा चेट जस्ता कार्यक्रमहरु गर्दै आएको छ । त्यसबाहेक फेवाताल संरक्षण लगायतका सामाजिक काममा पनि संघले योगदान दिँदै आएको खबर छ। पोखरामा मात्रै आन्तरिक र बाह्य गरी वार्षिक १० लाख पर्यटकले भ्रमण गर्ने गरेको अनुमान छ। ३ खर्ब रुपैयाँको लगानी रहेको पोखराका पर्यटकीय होटलमा ३० हजार बेड छन्। १५ हजारले रोजगारी पाएका छन्।
पोखरा क्षेत्रको आकर्षण भनेको फेवाताल, वेगनासताल, रुपाताल, नजिकबाट अवलोकन गर्न सकिने अन्नपूर्ण हिमश्रृखंला, माछापुच्छ्रे, विन्ध्यवासिनी मन्दिर, तालबाराही र भद्रकाली मन्दिर, विश्व शान्ति स्तुप, डेभिड फल्स, महेन्द्र र गुप्तेश्वर गुफा, प्याराग्लाइडिङ, बन्जी जम्प, सेती नदी लगायत हुन् । यसैबीच वीरगञ्ज लगायत सीमावर्ती सहरहरुबाट उल्लेख्य मात्रामा भारतीय पर्यटकहरुको आगमन हुने गरेको छ ।
तर सीमरादेखि पोखरा प्रत्यक्ष उडान नहुँदा काठमाडुबाट पोखरा जानुपर्ने बाध्यता रहको सरोकारवालाले बताएका छन्। त्यसैले सिमरा–पोखरा हवाई सेवाको व्यवस्था गर्न संयुक्त रुपमा आवाज उठाउनुपर्नेमा उनीहरुले जोड दिएका छन् । प्रदेश २ को उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री सुरेश मण्डलले नेपाल बुझ्न मधेस घुम्नैपर्ने बताउनुभयो। अलटाईम ट्राभल एण्ड टुरिज्मका सञ्चालक सञ्जय अग्रवालले पनि सिमरा–पोखरा उडान सेवा पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण हुने बताउनुभयो।
यसैगरी अंग्रेजी वर्षको डिसेम्बर महिना पर्यटकहरु बढी आउने महिनाको रुपमा परिचित छ। भारत सरकारले एकतर्फी नाका खोलिसकेको छ । तर नेपालले नाका बन्द नै राखेको छ । मुख्य नाकाबाट आवागमन निषेध गरेपनि साइडबाट आवागमन जारी छ।