नेपाल सरकारको सचिव रहँदा प्रधानमन्त्री निवास बालुवाटारको सरकारी जग्गा गैरकानूनी ढंगले व्यक्तिका नाममा लैजान भूमिका खेलेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातसँग विशेष अदालत काठमाडौंले बयान लिन शुरू गरेको छ ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात सचिव हुँदा ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लैजान भूमिका खेलेको आरोपमा अख्तियारले बस्न्यातविरुद्ध गत वर्ष माघ २२ गते विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बस्न्यातसँग आइतबार बयान लिने काम भइरहेको जानकारी दिए । ‘बयानपछि आजै सुनुवाइ शुरू हुन्छ,’ प्रवक्ता पाण्डेयले भने ।
विशेष अदालतका न्यायाधीशत्रय प्रेमराज कार्की, नित्यानन्द पाण्डे र अब्दुल अजिज मुसलमानको इजलासमा बस्न्यातको सुनुवाइ हुँदैछ । बयानका लागि बस्न्यात आफैं विशेष अदालत पुगेका थिए ।