कमला भट्टराई , झापा । मुलुकमा राजनीतिक अन्योल बढेको बेला शान्ति सुरक्षा प्रभावित गर्ने खालका अवैध गतिविधि पनि बढ्ने संकेत देखिएको छ ।
धरानमा सोमवार अमेरिकमा बनेको आधुनिक सहित २ थान पिस्तोल पक्राउ परेको घट्नाले त्यस्तो संकेत देखाएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार मेड इन युएस ए लेखिएको गोली हाल्ने म्यागजीन सहितको अटोमेटिक पेस्तोल एक थान र बनेको मुलुकको नाम नलेखिएको नखुलेको म्याग्जिन बिनाको अर्को एक थान सहित २ थान पेस्तोल पक्राउ गरिएको छ ।
उक्त पेस्तोल धरान–१५ सयपत्री मार्गका २७ वर्षिय देवीबहादुर लिम्बुको घरमा छापा मारेर खानतलाशी गर्दा बरामद गरिएको हो । प्रहरीले गैरकानुनी हतियार पेस्तोल सहित लिम्बु र धरान–१५ महादेव चौकका २६ वर्षिय रन्सुर राई लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी कमल थापाले पक्राउ परेको युवकहरु राजनीतिक दलहरु संग सम्बद्ध नभएको बताए ।
अनुसन्धान जारी रहेकाले उनिहरुको पृष्टभूमि र के प्रयोजनका लागि हतियार लुकाएर राखिएको हो भन्ने खुलिनसकेको उनको भनाई छ । पेस्तोल सहित पक्राउ गरिएका दुवैलाई अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी हातहतियार सम्बन्धी कसूरमा अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।