हल्दिबारी न्यूज डेक्स- हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मंसिर ११ देखि सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। सल्लोको जंगल, सुकेका पातपतिंगर अनि निगालोको झाडीमा फैलिएको आगलागी नियन्त्रणबाहिर नै छ। हाल यो आगलागी नासो गाउँपालिका–८ ताचैसम्म पुगेको छ।
आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भएको छैन। तर जडीबुटी र वन्यजन्तुमा कति असर पर्यो भन्ने लेखाजोखा छैन। आगलागी भएको क्षेत्र लमजुङको सदरमुकाम बेँसीशहरबाट ५५ किलोमिटर र सदरमुकाम चामेबाट डेढ घण्टाको दूरीमा पर्दछ। प्रशासनले आगो नियन्त्रणमा तदारुकता नदेखाउँदा हजारौँ हेक्टर जंगल डढेलोले सखाप बनाएको छ।
यो क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को संरक्षणमा रहेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सुरक्षा समितिसँगको समन्वयमा नियन्त्रणको प्रयास भइरहेको बताए। आगलागी भएको क्षेत्र जंगलमा थार, घोरल, कस्तुरी, मृग, हिउँचितुवा जस्ता वन्यजन्तु र पाँचऔँले, निरमसी, कुट्की, पदमचाल, यार्सागुम्बालगायत जडीबुटी पाउने गरिन्छ। आगलागी फैलँदै जाँदा नजीकैको ताचै गाउँ जोखिममा परेको छ। ताचैमा ६० घरपरिवारको बसोबास रहँदै आएको छ। डेढ महिनामा मात्र प्रशासनको उपस्थिति देखिएको छ।
स्थानीयवासीले हारगुहार गर्दासमेत प्रशासनले नसुनेको बताउँछन्। सोमबार मात्र प्रजिअ, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र एक्यापका प्रतिनिधि आगलागी भएको क्षेत्रमा पुगेको छ।