समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गिरिराज आचार्यको सृजनशील पत्रकारीता पुरस्कार कोष घोषणा

हल्दिबारी न्यूज डेक्स- । नेपाल प्रेस युनियन धरानले सञ्चालन गर्नेगरी नेपाली कांग्रेस नगर समितिले वरिष्ठ पत्रकार, साहित्यकार तथा कांग्रेसका अग्रज गिरिराज आचार्यको सम्मानमा १ लाख ५० हजार रुपयाको गिरिराज आचार्य सिर्जनशील पत्रकारीता पुरस्कार कोष स्थापना गरेको छ ।

Advertisement

बुधवार आयोजित एक घोषणा कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, कांग्रेस धरान उपमहानगर सभापति तथा मेयर तिलक राईले उक्त रकमको चेक युनियन धरान नगर समितिका अध्यक्ष मातृकाप्रसाद नेपाल लाई हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा प्रमुख अतिथि सांसद श्रेष्ठले कांग्रेसका अग्रज आचार्यको सम्मानमा पत्रकारीता पुरस्कार स्थापना गरेर कांग्रेस नगर समिति तथा मेयर तिलक राईले कांग्रेसका अग्रजहरु लाई जीवनकालमै सम्मानित गर्ने उदाहरणिय कार्य गरेको बताए ।

Advertisement

प्रेस युनियनले पुरस्कार लाई व्यवस्थित रुपमा अघि बढाउने विश्वास व्यक्त गर्दै यसबाट नयाँ पुस्ताले अग्रज आचार्यले राजीति, पत्रकारीता र साहित्यमा पु¥याएको योगदानले प्रेरणा दिने बताए । कांग्रेस सभापति तथा मेयर राईले राजतन्त्रको सकृय शासन रहेको पञ्चायती व्यवस्थाको तानाशाही शासनका बेला धरान तथा सुनसरीमा नेपाली कांग्रेसको संगठन विस्तार गर्ने चुनौतीपूर्ण कार्यमा गिरिराज आचार्यले अगुवा भएर ऐतिहासीक भूमिका निर्वाह गरेको बताए ।

उनले भने ‘कांग्रेसको संगठन विस्तार र प्रचारका लागि मिडियाले महत्वपूर्ण भूमिका खेल्ने कुरालाई अंगिकार गरेर उहाँले पत्रकारकारीता लाई पनि संग संगै अघि बढाउनु भयो ।’ उनले अहिले धरानमा नेपाली कांग्रेस चुनावमा विजयी हुने अवस्था सम्म आउनुमा आचार्यको योगदानले ठूलो भुमिका खेलेको बताउँदै भने ‘तर गिरिराज दाईले खेलेको ऐतिहासीक भूमिकाको अहिले सम्म मुल्याङकन भएको थिएन्, उहाँको नाममा पत्रकारीता पुरस्कार कोष स्थापना गरेर सानै रुपमा भएपनि नेपाली कांग्रेस नगर समितिले सम्मान गरेको हो ।’

यसबाट आचार्यको योगदानको चर्चा पत्रकारीता, राजनीति र साहित्यमा पछि सम्म भैरहने उनले विश्वास व्यक्त गरे । नेपाल प्रेस युनियनका सुनसरी जिल्ला अध्यक्ष पवन अधिकारीले सुनसरीमा नेपाल पत्रकार महासंघको संस्थापक सभापति, प्रेस युनियनका समेत संस्थापनक सभापति रहेका आचार्यको सम्मानमा पुरस्कार कोष स्थापना हुनु उदाहरणिय कार्य भएको बताए । उनले भने ‘यसबाट मिडियामा कार्यरत लोकतन्नवादी सञ्चारकर्मी लाई प्रोत्साहित गर्न सकने र उहाँको योगदान लाई चिरस्थायी बनाउने छ ।’

घोषणा समारोहमा पूर्व प्रदेश १ का प्रदेश प्रमुख प्राडा गोविन्द तुम्बाहाङ, विघटित संघीय सांसद मीना सुब्बा, भीष्म काफ्नले, कांग्रेस सुनसरी–१ क्षेत्रिय सभापति शुरेसमान श्रेष्ठ, विजयपुर एफएम सञ्चालिका हिमाल राई लगायतले पुरस्कार कोष स्थापना महत्वपूर्ण कार्य भएको चर्चा गरेका थिए । युनियन नगर अध्यक्ष मातृका नेपालले पत्रकारीतामा आचार्यको योगदान तथा जीवनीमा प्रकाश परेका थिए । उक्त पुरस्कार कोष नेपाली कांग्रेस सभापति तथा नगर प्रमुख तिलक राई लाई उपमहानगरपालिका बाट प्राप्त हुने सेवा, सुविधा भत्ता स्वरुप बैंकमा जम्मा भएको रकम मध्ये प्राप्त अनुदानको रकमबाट स्थापना गर्ने निर्णय नेपाली कांग्रेस उपमहानगर समितिले गरेको हो ।

जिम्मेवार, जनतामुखी सञ्चारकर्मी, पत्रकार लाई पुरस्कृत गर्न नेपाली कांग्रेसले स्थापना गरेको पुरस्कार कोष धरानको इतिहासमा पहिलो हो । कांग्रेस धरान समितिले कोष सञ्चालन गर्न प्रेस युनियन धरान उपमहानगर समिति लाई दिएको छ । युनियनले प्रत्येक वर्ष एक जना सञ्चारकर्मी पत्रकार लाई १५ हजार रुपयामा नघटाई पुरस्कार तथा ताम्रपत्र प्रदान गर्नेछ । युनियन व्दारा जारी पुरस्कार कोषको घोषणापत्रका नेपालको लोकतन्त्र, जनताका अधिकारलाई बलियो बनाउन, जनजिविकाका सवाल, जनताका आधारभूत आवश्यकतामा ध्यानाकर्षण, स्थानिय विकास र निर्माणका लागि बन्ने नीति निर्माणमा स्थानियबासीको सहभागीता, भ्रष्टाचार, विकृती, विसंगती विरुद्ध जनमत तयार गर्न र नगर तथा नगरबासीको समृद्धिका लागि सुनसरी जिल्ला धरानका सञ्चार तथा पत्रकारीता क्षेत्रमा संलग्न सृजनशील युवा पुस्ताको भूमिकालाई उच्च मुल्याङकन गर्दै पुरस्कार प्रदान गर्न अक्षयकोषको स्थापना गरिएको जनाएको छ ।

पुरस्कार कोषको स्थापनाले अग्रज वरिष्ठ पत्रकार श्री आचार्यले देखाउनु भएको मार्गचित्र र वहाँको योगदान लाई पुरस्कारकोषको स्थापनाले अनन्तःकाल सम्म चिरस्थायी बनाउने विश्वास गरिएको उल्लेख छ । घोषणापत्रमा भनिएको छ ‘पुरस्कार कोष स्थापनाले वहाँको जीवनकालमै वहाँले राजनीति, साहित्य र पत्रकारीतामा पु¥याउँदै आउनु भएको योगदानको उच्च मुल्यांकन गरी सम्मान प्रदान गर्ने उदेश्य राखेको छ ।’ अग्रज पत्रकार गिरिराज आचार्यले चार दशक अघि २०२८ देखी राजनीति र पत्रकारीता शुरु गरेका हुन् ।

नेपाली कांग्रेसको कार्यकर्ताका रुपमा सकृय उहाँले जनकपुरबाट प्रकाशित जनआकांक्षा साप्ताहिकका प्रतिनिधि भई प्रजातान्त्रिक आन्दोलनका समाचार, टिप्पणी लेख्नुका साथै बजारमा ग्राहक बनाउनेका काम पनि गर्नुभई पत्रकारीता शुरु गरेका थिए । २०३१ सालमा धरान बाट प्रकाशित नयाँ चेतना साप्ताहिकमा सहयोगी सम्पादकको रुपमा संलग्न थिए । यसैगरी काठमाण्डौंको राष्ट्रपुकार साप्ताहिकमा पनि संलग्न रहे ।

२०३० सालमा साहित्यिक पत्रिका झलक सामयिक संकलन शुरु गरेका थिए । उक्त पत्रिका पञ्चायती सरकारले देशभरीका सामयिक संकलन प्रतिबन्ध लगाएकाले १२ अंक प्रकाशित भई बन्द भयो । झलकका साथै वहाँले चान्द्रमसी मासिक, मोती संस्मरण समितिको मुखपत्र ‘मोती’, नौलो प्रतिज्ञा, निलिमाको पनि सम्पादन गरेका थिए । २०३५ सालमा एमनेष्टी इन्टरनेशनलको न्युज लेटर वितरण गर्दा वहाँ पक्राउ समेत परे । -कमला भट्टराई

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article