राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आज सहिद दिवस, प्रजान्त्रका लागि प्राण आहुती दिनेप्रति सम्झना

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी।प्रजान्त्रका लागि प्राण आहुती दिने वीर सहिदप्रति श्रद्धा सुमन व्यक्त गर्दै सधैँझैँ यो वर्ष पनि माघ १६ गते सहिद दिवस मनाइँदैछ। प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ।

Advertisement

कठोर र निरङ्कुश राणा शासनविरुद्ध क्रान्ति गर्ने वीर शहीद शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्यदण्ड दिएपछि यिनै चार सहिदप्रति श्रद्धा सुमन व्यक्त गर्दै मुलुकभर सप्ताहका रूपमा शहीद दिवस मनाउन शुरु गरिएको हो। विसं १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकू दोभानमा, १२ गते धर्मभक्त माथेमालाई सिफलमा, माघ १४ गते गङ्गालाल र दशरथलाई शोभा भगवती घोडेनागस्थित भचाखुसीमा मृत्युदण्ड दिइएको थियो। क्रान्तिमा नवयुवकलाई भड्काएर देशमा विद्रोह फैलाएको अभियोगमा टङ्कप्रसाद आचार्य र रामहरि शर्मालाई चारपाटा कपाल मुडेर वन्दी बनाइएको थियो। यो घटनापछि कारागारमै शहीद दिवस मनाउन थालिएको थियो तर त्यो समाचार पनि प्रजातन्त्र स्थापना भएपछि मात्र सार्वजनिक भयो।

Advertisement

२०११ सालमा नेपालको पहिलो राजनीतिक दल प्रजापरिषद्ले सहिद सप्ताह मनाएको थियो। त्यसअघि २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको हर्ष उल्लासमा विसं २००९ सालमा तत्कालीन राजा त्रिभुवनको अध्यक्षतामा सहिद सप्ताह मनाइएको थियो। विसं २०१७ सालपछि दलमाथि प्रतिवन्ध लगाइएपछि शहीद सप्ताह ओझेलमा पर्यो, उमङ्गका साथ मनाउन नै छोडियो। काठमाडौं नगरपालिका तहमा मनाइने शहीद दिवस २०४६ पछि भने हर्षोल्लासका साथ मनाउन थालियो। मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्व, २०६२-६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र अन्य विभिन्न पहिचानका आन्दोलनपछि सहादत प्राप्त गर्ने व्यक्तिलाई सहिद घोषणा गर्ने प्रचलन बढेको छ।

तर सरकारसँग हालसम्म मुलुकमा कति व्यक्ति सहिद भए भन्ने आधिकारिक तथ्याङ्क छैन। नेपालका पहिलो सहिद लखन थापालाई मानिन्छ। त्यसयता सरकारले विसं १९९७ मा प्रजातन्त्रका लागि प्राण आहुति दिने चार सहिद–शुक्रराज शास्त्री, माथेमा, श्रेष्ठ र चन्दलाई सहिद घोषणा गरी विभिन्न कार्यक्रममार्फत प्रत्येक वर्ष सम्झिने गरेको छ। मुलुकमा पछिल्लोपटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत सहिद घोषणा गर्नुपर्ने र रु १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक सहिदको भावनामा चोट पुगेको गुनासा बढ्न थालेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article