हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी । महिलामाथि जबर्जस्ती करणी भएका घटना बाहिरिरहेको अवस्थामा झापामा एक पुरुषमाथि करणी भएको छ । झापाको कनकाई नगरपालिका–७ स्थित बिरिङ नदी किनारमा ३० वर्षीय पुरुषमाथि अप्राकृतिक करणी भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार कनकाई नगरपालिका–७ का पुरुषमाथि अप्राकृतिक करणी भएको हो । अप्राकृतिक करणीका कारण पुरुष घाइते छन् । घाइतेको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ । तर अप्राकृतिक करणीमा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले मुद्दा नचलाई छाडेको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले कनकाई नगरपालिका–६ निवासी १९ वर्षीय पारस तामाङ र सोही नगरपालिका–७ निवासी २१ वर्षीय विनोद टुडुलाई पक्राउ गरेको थियो । तर मुद्दा चलाउन नमिल्ने भएपछि छाडिएको डिएसपी थापाले जानकारी दिए । ‘पीडित १८ वर्षमुनिको भए प्रहरीले मुद्दा चलाउन सक्थ्यो । तर ३० वर्षको भएका कारण मुद्दा व्यक्तिवादी बन्यो,’ उनले भने, ‘आरोपीलाई सोधपुछका लागि नियन्त्रणमा लिएका थियौँ, अनुसन्धानका लागि म्याद थप गर्न अदालतले नमानेपछि छुटे ।’
उनका अनुसार अप्राकृतिक करणी भएका कारण पीडित पुरुष आफैँले अदालतमा मुद्दा दायर गरेर लड्नुपर्नेछ । अप्राकृतिक करणीमा परेका पीडित १८ वर्षभन्दा कम भएमात्र प्रहरीले अनुसन्धान गर्नसक्ने कानुनी व्यवस्था रहेको उनले बताए ।