समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भागरथी हत्या रिसईबीका कारण, १७ वर्षीय युवक प्रहरी फन्दामा

हल्दिबारी न्यूज , बैतडी । दोगडाकोदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा सोही करिब १७ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका ती किशोरले अपराध स्वीकारेको प्रहरीको दाबी छ। ती किशोरलाई आज दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

Advertisement

उनले भने, ‘नियन्त्रणमा रहेको व्यक्तिको नाम र सबै कुरा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्छौं, अहिले नै सबैकुरा नखोलौं।’ गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दा माघ २२ गते स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन्। भागरथी दोगडाकेदार–३ श्रीकोटस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत रहेकी थिइन्। पक्राउ परेका किशोर पनि सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत हुन्।

Advertisement

उनी माघ २१ गते विद्यालयमा हाजिर रहेको सनातन धर्म माविका प्रधानाध्यापक वलदेव नाथले जानकारी दिए। किशोरले माघ २१ गते नै भागरथीको हत्या गरेको प्रहरीले बताएको छ। खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक पुग्दा सडकबाट धकेलेर भीरमा खसालेको र त्यसपछि घाइते भएकी भागरथीलाई हत्या गरेको किशोरले बताइएको प्रहरीको भनाइ छ। घरायसी पुरानो रिसिइबीका कारण भागरथीको हत्या गरेको किशोरले बयानमा बताएको प्रहरीले बताएको छ।

ती किशोर यसअघि भागरथीको न्यायका लागि गरिएका आन्दोलनमा समेत सहभागी रहेका प्रहरीले जनाएको छ। ​ भागरथीको शव हालसम्म जिल्ला अस्पतालमै छ। पीडित परिवारले हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने अडान राख्दै आएका छन्। पोष्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको बताइएको छ। घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी नेतृत्वको टोलीले गरिरहेको छ।

टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिकहरु रहेका छन्। अनुसन्धानका लागि आएको टोली १२ दिनदेखि खोचलेक प्रहरी चौकीमै रहेको छ।-जय धामी

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article