समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

मोरङको गोठगाउँमा टिपरको ठक्करबाट वृद्धाको मृत्यु,

डेक्स प्रमुख/ हल्दिबारी मिडिया -चन्द्रगढी . बैशाख १ / मोरङको सुन्दरहरैँचामा टिपरले ठक्कर दिँदा पैदल यात्रा गरिरहेकी एक जना वृद्धा महिलाको बुधबार बिहान ज्यान गएको छ । घटनाको विरोधमा स्थानीयले एक घण्टाजति सडक अवरुद्ध बनाएका छन् ।
पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा प्र–१ –०२–००१ ख ८५३० नम्बरको टिपरका कारण नयाँ वर्ष २०७८ सालको बिहानै मानवीय क्षति हुने गरीको दुर्घटना भएको हो । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार टिपरले ठक्कर दिँदा ७५ वर्षीया मैयादेवी प्रधानको मृत्यु भएको हो । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । पूर्वतर्फ गइरहेको टिपरले ‘मर्निङ वाक’मा निस्किएकी प्रधानलाई बिहान ४ बजेतिर सडक पार गर्दैगर्दा ठक्कर दिएको एसपी खड्काले बताए । उनका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा बिहान ६ बजेतिर विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
टिपर र चालक मोरङको उर्लाबारी नगरपालिका– ३ का ३२ वर्षीय चूँडामणि भण्डारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घटनाको विरोधमा स्थानीय बासिन्दाले पूर्व–पश्चिम लोकमार्ग एक घण्टाजति अवरुद्ध बनाए ।सडकमा टिपर आतंक रोक्नुपर्ने, कम गतिमा टिपर कुदाउनुपर्ने, दुर्घटना गराउने चालकलाई कारबाही हुनुपर्ने लगायतका माग राखेर आन्दोलित बनेका स्थानीयले सडकमा सवारी साधन चल्न दिएनन् । ढुंगा राखेर र बाँस तेस्र्याएर अवरुद्ध गरिएको प्रहरीको पहलमा खुलाइएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल नेतृत्वको टोलीले सबै पक्षसँग समन्वय गर्दै सडक खुलाउन गरेको पहल सकारात्मक बनेपछि सडकमा सवारी साधन सञ्चालनमा आएका हुन् । दोषी चालकलाई कानुन अनुसार कारबाही गर्ने र टिपर सञ्चालनमा कडाइ गर्ने प्रतिवद्धता प्रहरीले जनाएपछि आन्दोलित बनेका स्थानीय लोकमार्गको अवरोध हटाउन राजी भएको बताइएको छ ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article