देवेन्द्र किशोर/हल्दिबारी मिडिया / झापामा भएको अलगअलग सवारी दुर्घटनामा परेर एक नाबालकसहित दुई जनाको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित पूर्व–पश्चिम लोकमार्गमा पश्चिमतर्फ आउँदै गरेको मे १० प ५५२० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा झापाको अर्जुनधारा–२ की २७ वर्षीया शुसना राईको ज्यान गएको हो । दुर्घटनामा परेर घाइते भएकी उनको उपचारका क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा शनिबार राति ८ः१० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकल चालक अर्जुनधारा –२ का ३० वर्षीय सन्तोष थापा घाइते भएका छन् । उनले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त नगरिकन र मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएको खुलेको छ ।

यसैबीच झापाको कमल गाउँपालिका –४ मा उत्तरतर्फ आउँदै गरेको प्र १ –०१ –०१२ प १६०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक नाबालकको मृत्यु भएको छ । तीव्र गतिमा रहेको मोटरसाइकलले बाटोमा खेल्दै गरेका ७ वर्षीय बालक निश्चल खड्कालाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा साँझ ५ बजेतिर दमक अस्पतालमा ज्यान गएको हो । प्रहरीले मोटरसाइकल चालक कमल गाउँपालिका –५ का १८ वर्षीय आयुष राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । चालक राईले पनि लाइसेन्स प्राप्त नगरिकन मोटरसाइकल चलाएको खुलेको छ ।