समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र आउट,आरोपित पक्राउ

देवेन्द्र किशोर/हल्दिबारी मिडिया ,भद्रपुर / पूर्वाञ्चल विश्वविद्यालयको बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको प्रश्नपत्र आउट गरेको आरोपमा कर्मचारी र बिचौलियासहित १० जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८ जना विद्यार्थी छन् । एकजना विचौलिया र अर्का एक विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा कार्यरत कर्मचारी रहेका छन् ।

Advertisement

शनिबार राती पक्राउ परेका १० जनालाई नै आज मोरङ प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रश्नपत्र आउट प्रकरणमा विराटनगर महानगरपालिका–८ का ४४ वर्षीय कोमलप्रसाद गौतम, संखुवासभा मादी घर भएका ३५ वर्षीय गोपाल कार्की, रुपन्देही स्थायी घर भई काठमाडौँ बस्दै आएका ३० वर्षीय विजय पोखरेल, सिन्धुपाल्चोक बाह्रबिसे–४ का २८ वर्षीय निर्मल खड्का, महोत्तरी रामगोपालपुर–९ का २९ वर्षीय नानीपथ मण्डल, सप्तरी बोदेबर्साइन–७ का २९ वर्षीय जीवनकुमार यादव, सप्तरीकै अग्निसाइर कृष्णसवरण–५ का २६ वर्षीय महेश यादव, गोरखाको भीमसेनथापा गाउँपालिका–१ का ३२ वर्षीय मीनप्रसाद भट्ट, गोरखाकै गण्डकी गाउँपालिका–३ का ३१ वर्षीय भरत पन्त, गोरखा नपा–४ का २६ वर्षीय विकास खड्कालाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । प्रहरी उपरीक्षक खड्काका अनुसार विराटनगरका कोमलप्रसाद गौतम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा कार्यरत छन् ।

Advertisement

उनले नै प्रश्नपत्र फोटोकपी गरेका थिए । फोटोकपी गर्ने क्रममा प्रश्न हातले लेखेर चोरी गरेका थिए । गौतमले सारेको फोटोकपी कार्कीलाई दिएका थिए । कार्कीले भने अन्यन्त्र बिक्री गरे । प्रहरीका अनुसार प्रश्नपत्र आउट गर्दा आर्थिक चलखेल पनि भएको छ । गौतमले कार्कीलाई उधारोमा प्रश्नपत्र पठाएका छन् । कार्कीले विजय पोखरेललाई ८० हजारमा बेचेका थिए । विजयले भने २० हजार रुपैयाँसम्म लिएर प्रश्नपत्र बिक्री गरेका थिए । वैशाख ३ गते परीक्षा तोकिएको थियो ।

तर परीक्षा हुन दुई घण्टा अघि प्रश्नपत्र बाहिरिएको पुष्टि भएको थियो । प्रश्नपत्र बाहिरिएपछि विश्वविद्यालयलले छुट्टै प्रश्नपत्र तयार गरेर परीक्षा गरेको थियो ।दुई घण्टा अघि जानकारी आएपनि प्रश्नपत्र भने दुई दिन अघि नै बाहिरिएको प्रहरीको निष्कर्ष छ । विश्वविद्यालयले अनुसन्धान गर्न आग्रह गरेपछि दुई दिन अघि नै प्रश्नपत्र बाहिरिएको देखिएको प्रहरी उपरीक्षक खड्काले बताए ।

प्रहरीका अनुसार परीक्षा नियन्त्रण कार्यालयमा कार्यरत गौतमले फोटोकपी गर्ने क्रममा एउटा प्रश्नपत्र लिएर गएका थिए । फोटोकपी गर्दा लुकाएको प्रश्नपत्र हातले सारेर गोपाल कार्कीलाई सामाजिक सञ्जालमार्फत पठाएको र विजयले मीनप्रसाद भट्टलाई २० हजार रुपैयाँमा बिक्री गरेको जनाइएको छ । प्रहरीका अनुसार कार्कीसँग ८० हजार रुपैयाँमा प्रश्नपत्र खरिद गर्ने विजय पोखरेल फिजिक्समा ब्याक लागेका विद्यार्थी हुन् ।

प्रश्नपत्र आउट प्रकरणमा अन्य विद्यार्थी र कर्मचारी पनि संलग्न हुनसक्ने प्रहरीको आशंका छ । पक्राउ परेकाहरुलाई शिक्षा ऐन २०२८ अनुसार म्याद थप गरी प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article