सर्वोच्च अदालत क्षेत्रमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्ष र आन्दोलतरत कानुन व्यवसायीबीच झडप भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने घोषणा माग गर्दै धर्ना दिन सर्वोच्च अदालत परिसर पुगेका कानुन व्यवसायी र प्रधानन्यायाधीश पक्षबीच झडप भएको हो ।

दुई पक्षबीच झडपको अवस्था बनेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रधानन्यायाधीश जबरा पक्षमा नाराबाजी र झडपमा उत्रिएका ३ महिलासहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तारा बराल सहित ३ जना महिला र दुईजना पुरुष छन् । त्यस्तै आजै सर्वोच्च अदालत परिसरमा आन्दोलनरत वकिल र प्रहरीबीच झडप भएको छ । प्रहरीले आन्दोलनकारी केही कानुन व्यवसायीलाई पक्राउ गरेको छ । आज बिहानैदेखि सर्वोच्चमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको छ ।

प्रधान्यायाधीशले सरकार र संवैधानिक निकायमा भागबन्डा मागेको, अदालतमा अनियमितता, विसंगति र विचौलिया रोक्ने उपायस्वरूप न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पेसी तोक्दा गोलाप्रथा लागू गर्ने सुझाव कार्यान्वयन नगरेको भन्दै नेपाल बारले उनको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ ।